पाँचथर /  सरकारले पहिलोपल्ट सोमबारदेखि पाँचथरबाट राष्ट्रिय परिरचयपत्र वितरण कार्यको सुरुवात गरेको छ । पाँचथर सदरमुकाम फिदिममा राष्ट्रिय उत्सवको रुपमा आयोजित बिशेष समारोहबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ भएको हो ।
समारोहमा गृहमन्त्री रामबहादुर थापाले १०१ वर्षिय जेष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई परिचय पत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रिय परिचयपत्रले नागरिकको सम्पूर्ण सूचनाहरु भरपर्दो गरी एकिकृत गर्ने भएकाले यसले मुलुकमा शुसासन कायम गर्न सहयोग पुग्ने बताए । उनले भने– ‘भरपर्दो रुपमा सूचनाहरु यसले केन्द्रीत गर्छ एउटा सूचना प्रणालीमा र राष्ट्रले त्यसका आधारमा आफ्ना बिकास र समृद्धिका योजनाहरु बनाउछ ।’
समारोहमा बोल्दै प्रदेश–१ का मूख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको दिनलाई नेपालको सन्दर्भमा ऐतिहासिक दिन भएको बताए । मूख्यमन्त्री राइले सूर्योदयको प्रदेशबाट यो काम सुरु भएको भन्दै यसले मुलुकमा शुसासन कायम गर्न र समृद्धि हाँसिल गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

भवतीदेवी राष्ट्रिय परिचयपत्र पाउँने पहिलो नागरिक 
फिदिम नगरपालिका–४ की जेष्ठ १०१ वर्षिया बृद्धा भगवतीदेवी भण्डारी राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली नागरिक भएकी छन् । सोमबार आयोजित बिशेष समारोहमा गृहमन्त्री रामबहादुर थापाले भगवतीदेवीलाई परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका हुन् । आफ्नो नाती दीपक भण्डारीको सहारामा गाडीमा चडेर उनी परिचयपत्र लिन कार्यक्रम स्थल पुगेकी थिइन् । परिचयपत्र लिइसके पछि उनले भनिन्– ‘छ वर्षको उमेरमा मेरो बिवाह भयो, अहिले १०१ वर्ष पुग्दा मन्त्रीको हातबाट पहिलो पल्ट कार्ड पाउँदा खुसी छु ।’