वराहक्षेत्र/ भारतको बनारसको सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयको दर्शन विषयमा ७ स्वर्ण र १ रजत पदक प्राप्त गरी विश्व विद्यालय टप गर्ने प्राचीन हरिद्वार चतराधामस्थित श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलमा आधारभूत विद्यालयका पूर्व विद्यार्थी लेखनाथ पौडेललाई सम्मान गरिएको छ ।

आइतबार चतरास्थित गुरुकुलमा आयोजना गरिएको पूर्व विद्यार्थी सम्मान कार्यक्रममा भारतको विश्व विद्यालयको दर्शन विषयमा, इस्वी संवत् २०१८ सालको आचार्य तहको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी विश्व विद्यालय टप गर्ने पौडेलसहित अन्य बिहारी शरण सुनिल भट्टराई, राधिकाशरण तेजु निरौला र दिनेश कौशिकीलाई सम्मान गरिएको हो ।

उनीहरूलाई प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिका नगर प्रमुख निलम खनालले प्रमाण–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्राचार्य लोमश रेग्मीले बताए ।

नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले चाँदीको मुकुट लगाइदिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री जीवन घिमिरेले, विश्व भाषाको जननी संस्कृत भाषाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी लेखनाथ पौडेलको प्रशंसा गर्दै आउने दिनमा संस्कृतका माध्यमबाट राष्ट्रको सेवा गर्न शुभकामना दिए ।