पाँचथर /  जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा मंगलबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

सोही स्थान बस्ने ४५ वर्षिय नरबहादुर चेम्जोङले धारिलो हतियार प्रहार गरी जेठी श्रीमती ४२ बर्षिया इन्द्रमाया चेम्जोङको हत्या गरेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी इन्स्पेक्टर अनिलकुमार पौडेलले बताए । नरबहादुरले गर्धनमा हतियार प्रहार गर्दा इन्द्रमायाको घटनास्थलमै ज्यान गएको पौडेलले बताए ।

श्रीमतीको हत्या गरी भागेका नरबहादुरलाई मंगलबार राति नै प्रहरी चौकी नवमीडाँडाँबाट खटिएका टोलीले पक्राउ गरेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिसासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा नरबहादुरले जेठी श्रीमतीको हत्या गरेको बताइएको छ ।

नरबहादुरले हत्या गरेको जेठी श्रीमती इन्द्रमायाको एक छोरी छन् भने कान्छी श्रीमतीबाट एक छोरा र एक छोरी रहेका छन् । मृतकको शवको बुधबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ ।