रासस/एएफपी- जापानी कार कम्पनी निशान र मित्सुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको शेयरमा गिरावट आएको छ ।

गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो ।

अध्यक्षको पक्राउपछि दुवै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताव गर्ने बताएका छन् भने रेनल्टले यस विषयमा चर्चा गर्न बैठक बोलाएको जनाएको छ ।  कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ ।

जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मित्सुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् ।

कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण विषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग बताए ।  ‘सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ’ मन्त्रिपरिषद्का मुख्य सचिवहरू योसिहाइड सुगाले विषयलाई थप विस्तार नगरिकन बताए ।

चौसठ्ठी वर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल व्यवस्थापकको छविमा ठूलो आघात पु¥याएको छ । उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ ।

फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनीमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

गोसनको पक्राउ भएको भन्ने पत्याउनै कठिन समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने विषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो । यद्यपि टोकियोका अभियाजनकर्ताहरूले प्रयोग गर्ने कैदीगृहमा उनलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

जापानी अभियोजनकर्ताहरूले भनेका छन्, ‘गोसनलाई विगत पाँच वर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो ।

निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौं लामो अनुसन्धानले उनले केही वर्षयता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो । उनीमाथि उनको तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तिको दुरूपयोग गरेको आरोप रहेको छ ।

निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रसारण एनएचकेले जनाएको छ । गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ ।

गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले बताए ।

कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५.४५ प्रतिशतले कमी आएको छ । त्यस्तै मित्सुबिसीको शेयर मूल्यमा ५.८४ प्रतिशतले कमी आएको छ ।

गोसनले आफू र आफ्ना प्रतिनिधि बारे केही बताएका छैनन् ।

तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्यधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अँध्यारो पक्ष भएको बताए ।