विराटनगर /  बिद्युत्त परियोजना र बिजेश म्यानिजमेन्ट ग्रुपको नक्कली कार्यालय खोलेर खुलेआम ठगी गर्ने एक व्यक्तिबाट कर्मचारीहरू ठगिएका छन् ।  विराटनगर – ४ कञ्चनबारी पश्चिम साझा मार्गमा सिँगो घर भाडामा लिएर ‘तमोर मेवा जलबिद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेश मेनेजमेन्ट ग्रुप (बिएमजी)’ भन्ने नक्कली कम्पनीको कार्यालय खोलेर मोरङको लेटाङ्ग घर बताउने गुणराज ओझाबाट कर्मचारीहरु ठगिएका हुन् ।
पाँच महिनादेखि यहाँ काम गर्दै आएका ५० जना कर्मचारीहरूलाई पारिश्रमिक नदिई उल्टै सापटी भन्दै लाखौ रुपैयाँ लिएर ठगी गरे पछि उनीहरुले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयमा उजुरी गरेका छन् ।
स्थायी ठेगाना नखुलेका तर विराटनगर ३ जामुनागाछीमा ससुरालीमा बस्दै आएको बताउने ओझाले विभिन्न व्यक्तिलाई शेयर बिक्रि गर्ने भन्दै बिद्युत्त परियोजना र पूर्वमा केवलकार संचालन गर्ने चिया बगानहरु चलाउने आदि भन्दै बिजनेश मेनेजमेन्ट ग्रुप नामको नक्कली कम्पनी खोलेको खुल्न आएका छ । उनले कम्पनीमा शेयर सदस्य बनाउने भन्दै बिभिन्न व्यक्तिहरुबाट रकम असुल्न सुरु गरेका थिए भने कर्मचारीहरुलाई पारिश्रमिक नदिई उल्टै सापटी भन्दै रकम लिएर ठगी गरेका थिए । ‘बिद्युत्त परियोजना र बिजनेश कम्पनी खोल्ने भन्दै,’ २०७४ चैतमा ५० जना भन्दा बढी कर्मचारी नियुक्त ओझाले गरे,’ पाँच महिनादेखिको तलब नपाएको नितेशकुमार खतिवडाले भने, ‘उल्टै उनीहरूबाट लाखौ रुपैया सापटी भन्दै असुलेर ठगी धन्दा सुरु गरे ।’

पीडित भएका कर्मचारीले पारिश्रमिक दिलाइदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय बिराटनगरमा उजुरी समेत दर्ता गराएका छन् । उक्त उजुरी पछि श्रमले २० असोजमा कर्मचारीको पारिश्रमिक कानून अनुसार दिन निर्देशन गर्दै बिराटनगर स्थित तमोरमेवा जलबिद्युत्त परियोजना पब्लिक लिमिटेड र बिजनेश मेनेजमेन्ट ग्रुपको मुख्य कार्यालयका नाममा परिपत्र गरेको थियो । तर ठगी धन्दाको पोल खुलेपछि गुणराज विराटनगर स्थित रहेको तीन वटै घरमा रहेका दुवै कार्यालयहरु बन्द गरेर गायब भएका छन् ।