काठमाडौँ / : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको हो । प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि आज प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ । प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिए । 
प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने उनले बताए । कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिइनेछ । आजको बैठकको सरकारको काम कारवाहीका विषयमा समेत समीक्षा गर्ने कार्यसूचीमा रहेको थियो । तर उक्त विषय आजको बैठक प्रवेश नै नगरेको बताइन्छ । 
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एवं नेताहरुको व्यस्ततालगायतका कारणले सचिवालयको बैठकसमेत पर सर्दै आएको थियो । सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।