रासस/एएफपी- उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारको ठक्करबाट पाँच जनाको मृत्यु भएको छ ।

बाटो काट्दै गरेका उनीहरूलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु भएको हो ।

साथै १८ घाइते बनेका छन् । लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यो दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिई अनुसन्धान शुरू गरिएको विदेशी मिडियाले उल्लेख गरेका छन् ।

सो कार गलत दिशाबाट आएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । गलत दिशाबाट आएकोले बाटो काटिरहेका बालबालिकालाई ठक्कर दिएको उनीहरूको भनाइ छ । यसै महिनाको शुरूमा चोङ्गकिङ प्रान्तमा एक सडक दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा हुनान प्रान्तमा भएको एक सडक दुर्घटनामा ११ व्यक्तिको मृत्यु भएको थियो ।

त्यस्तै भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । आगलागीका कारण थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ४ बजे दुर्घटनाग्रस्त पेट्रोल ट्याङ्कर सडकपेटीमा पल्टिएको र त्यसक्रममा बिजुलीको पोल ढलेको थियो । सडकपेटीमा पल्टिएको ट्याङ्करबाट पोखिएको तेलमा आगो सल्किएको र त्यसबाट सडक छेउछाउका १६ वटा घरमा आगो लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

अग्नि नियन्त्रकहरूले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको प्रान्तीय प्रहरीले जनाएको छ ।