रासस/एएफपी- अफगानिस्तानका प्रधानमन्त्री अब्दुल्लाह अब्दुल्लाहले हिंसा जारी राखेका तालिबानहरू शान्तिका लागि गम्भीर नरहेको बताएका छन् ।

अफगान सरकार प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गएको करिब १७ वर्षदेखि युद्धरत तालिबान लडाकू समूह कुनै पनि शान्ति सम्झौताका लागि सहमत नरहेको र यसका लागि कुनै सङ्केत नदेखाएको बताएका हुन् ।

अमेरिकाले केही महिनायता अफगानिस्तानका तालिबानहरूलाई शान्ति वार्तामा ल्याउन निकै प्रयत्न गरिरहेको समाचार आइरहेका बेला अफगानिस्तानका सरकार प्रमुखको यो भनाइ आएको छ । तालिबानहरूलाई शान्ति वार्तामा ल्याउन अमेरिका मात्र नभएर अफगानिस्तानको सरकारले पनि प्रयत्न गरेको तर उनीहरू भने गम्भीर नभएको प्रधानमन्त्री अब्दुल्लाहले एएफपी समाचार समितिलाई बताए ।

अब्दुल्लाहले यसै महिनाको शुरूमा तालिबानहरूसँग शान्ति वार्ता हुन सक्ने आशय व्यक्त गरेका थिए । उनले वार्ताका लागि तालिबानहरू तयार हुन सक्ने बताएका थिए ।

त्यस्तै अफगास्तिानका लागि अमेरिकी विशेष दूतले पनि अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको अघि तालिबानसँगको वार्तामा प्रगति हुने जानकारी दिएका थिए । अफगानिस्तानमा आगामी अप्रिल महिनामा राष्ट्रपतिको निर्वाचन हुन लागेको छ ।

सो निर्वाचनको अघि नै शान्ति वार्ताका लागि राष्ट्रपति असरफ घानीले पनि प्रयास शुरू गरेका थिए । तर यता प्रधानमन्त्री घानीको यो आशयबाट यहाँका तालिबानहरू शान्ति वार्ताका लागि तयार नभएको देखिएको छ ।

फ्रान्सको राजधानी पेरिसमा बुधबार एएफपीलाई दिएको अन्तर्वार्तामा उनले पछिल्ला समयमा तालिबानलाई शान्ति वार्तामा ल्याउन अफगानिस्तान सरकार, अमेरिका र अरू पनि विदेशी समुदायले प्रयास गरेको खुलासा गरे ।

अफगानिस्तानको राजधानी काबुलमा दुई दिनअघि भएको आत्मघाती हमलामा परी कम्तीमा ५५ जनाको ज्यान गएको थियो ।