धरान / धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आयोजित दोस्रो मेयर स्कुल ओलम्पिक अन्तर्गत आज भएको बास्केटवल खेलमा पुरुष तर्फ सुम्निमा, युएन, सुनाखरी आइडल र महिला तर्फ होलिल्याण्ड, पदम, डिपो र आइडल स्कुल बिजयी भएका छन् ।

खेलमा छात्र तर्फ सुनाखरीले नेपाल पुलिस स्कुललाई २०–२, आईडल स्कुलले चिल्र्डेन स्कुललाई १४–७ र छात्रा तर्फ होलिल्याण्डले दिल्लि पब्लिक स्कुललाई १०–४, पदम स्कुलले सुनाखरीलाई १४–४, डिपोले बिष्णु स्कुललाई ६–३ र आईडलले सिओन स्कुललाई ६–४ अंकको अन्तरले पराजित गरेको हो ।

छात्र तर्फको खेलमा निकेतन स्कुलले सुम्निमा स्कुललाई र युनाइटेड स्कुलले युएन स्कुललाई वाकओभर दिए पछि सुम्निमा र युएन स्कुललाई बिजयी घोषित गरिएको थियो । भोलिको खेल छात्र तर्फ डिपिएस र डिपो स्कुल, सैनिक र होलिल्याण्ड, नवज्योति र जुनियर पाईनर, लोट्स र केके ईन्टरनेशनल, बिजयपुर र कार्मेल स्कुल बिच प्रतिस्पर्धा हुने बास्केटवल खेलका संयोजक तथा खेलकुद विकास समितिका सदस्य विकाश चाम्लिङ राईले जानकारी दिए ।