विजयपुर/ धरानमा जारी दोस्रो मेयर ओलम्पिक प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरू सम्पन्न भएका छन् ।

आइतबार सम्पन्न क्वार्टरफाइनल खेलबाट युरेका आवासीय मावि, सैनिक आवासीय मावि, पदम मेमोरियल बोर्डिङ स्कुल र ज्वालामुखी सेकेण्डरी बोर्डिङ स्कुल सेमिफाइलनमा प्रवेश गरेका छन् ।

एन्फा टेक्निकल सेण्टरमा भएको खेलमा युरेका माविले पब्लिक माविलाई १–०, सैनिक आवासीयले पञ्चकन्यालाई २–१, पदम मेमोरियलले विएन माविलाई ट्राइबे्रकरमा ५–४ गोल र ज्वालामुखीले समीटलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो ।

यस्तै आइतबार नै भएको सेपाकटाक्रोको पनि सेमिफाइनलको समीकरण पूरा भएको छ । प्रतियोगितामा आइडियल बोर्डिङ स्कुल, लिगामेन्ट बोर्डिङ स्कुल, ज्वालामुखी मावि र कार्मेल हाईस्कुल अन्तिम चारमा पुगेका छन् ।

आइडियलले माउन्ट हर्मनलाई, लिगामेन्टले डिपोटलाई, ज्वालामुखीले दन्तकाली माविलाई सोझो सेटमा पराजित गरेको हो भने कार्मेलले सुनाखरीलाई बेस्ट अफ थ्रीको आधारमा जितेको छ ।

खुल्ला बुद्धिचालमा धरान लिगामेन्टका आर्य राई विजेता बन्दै स्वर्ण पदक हात पारे । त्यस्तै पर्वत सेकेण्डरी बोर्डिङ स्कुलका आशिष लिम्बू दोस्रो र सैनिक आवासीय माविका राजीव ओझा तृतीय भएका छन् ।

यसैगरी बास्केटबलको छात्रातर्फ पर्वत स्कुल फाइनल प्रवेश गरेको छ । पर्वतले डिपोट स्कुललाई ६–४ अङ्कको झिनो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यस्तै ब्याडमिन्टनतर्फ तीन स्वर्ण र तीन रजत प्राप्त गर्दैै सुनगाभा बोर्डिङ स्कुल प्रथम भएको छ भने युरेका आवासीय मावि र डिपोट माविले तेस्रो स्थानमा चित्त बुझाएका छन् ।