पूर्वी नेपाल र बंगलादेश बीच पर्यटन र अन्तर सम्बन्धको सम्भावना

alt
  • मंसिर ११, २०७५
  • ११५ पटक पढिएको
  • वासुदेव बराल

विषय प्रवेश:

दक्षिण एशियामा रहेका नेपाल र बंगलादेश प्राचीन भारतवर्षको एउटै पृष्ठभूमिका दुई देश हुन् । यी दुई देशको उत्पत्ति, प्राचीन पृष्ठभुमी, संस्कृति र सामाजिक परिवेशको मुहानमा निकै धेरै सामन्जष्यता छ ।

भौगोलिक रुपमा पनि दुई देश निकै नजिक रहेका छन् ।

आ-आफ्ना सीमाना जोडिएका देश बाहेक यी दुई देश आफ्ना सबैभन्दा नजिकका छिमेकी पनि हुन् । प्राचिन कालदेखि चलिआएको हामी दुई देशका बासिन्दाबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक, आर्थिक र राजनैतिक सम्बन्ध अझ दिगो र प्रगाढ बनाउन राजयस्तरमा निकै प्रयासहरु त भएकै छन् ।

जनस्तरमा समेत यी सम्बन्ध मजबुत बनाउन हामीले नेपाल वंगलादेश फ्रेण्डशिप एशोसिएसन अफ ईष्टर्न नेपाल गठन गरि आपसी सम्बन्ध विकासमा विविध कार्यहरु गरि आएका छौं ।

यसैक्रममा नेपालको पूर्वी भाग र बंगलादेश बीच पर्यटन र अन्तरसम्बन्धबाट प्राप्त हुन सक्ने उपलब्धी बारे छलफल, चर्चा र प्रयास गर्न सहयोग पुग्ने उद्देश्यले यो लेख तयार गरिएको छ ।

नेपाल र बंगलादेश बीचको सम्बन्ध :

नेपाल र बंगलादेशबीचको सम्बन्ध निकै प्राचीन सम्बन्ध हो । हिन्दु धर्मको उत्पत्ति भूमि नेपाल हो भने बंगलादेशको प्राचीन धर्म पनि हिन्दु हो ।

इस्वी सदि १३ औं शताब्दि अगाडिसम्म बंगलादेशमा हिन्दू धर्मको प्रभाव व्यापक मात्रामा परेको देखिन्छ । त्यसपछि नेपालमा जन्मिएका गौतम बुद्धले प्रतिपादन गरेको बौद्धधर्मको प्रभाव बंगलादेशमा व्यापक मात्रामा पारेको इतिहासले बताउँछ ।

१४ औं/१५ औं शताब्दीताका बौद्धधर्मको प्रभाव रहेको बंगलादेशको इतिहास र त्यहाँका प्राचीन मूर्तिकला र संग्रहालयमा रहेका कलाहरुले देखाउँछ ।

८ औं शताब्दी देखी १२ औं सम्म पाटन र भक्तपुर बाट बौद्ध (भिक्षु) विद्यार्थीहरु महाविहारमा अध्ययन गर्नजाने गरेको पनि इतिहास रहेको छ ।

राजनैतिक रुपमा नेपाल र बंगलादेशबीच सन १९७२ अप्रिल ८ तारिखका दिन दौत्य सम्बन्ध कायम भएको हो । तथापि बंगलादेशको भाषिक र स्वतन्त्रता संग्राममा नेपाली कांग्रेस सन् १९७१ मा हतियार सहयोग पठाएर त्यहाँको आम नागरिकको स्वतन्त्रतामा नेपालीको पनि योगदान रहेको इतिहास निर्माण गरेको छ ।

त्यस्तै पछिल्ला दिनहरुमा बंगलादेश र नेपालले गरेका आर्थिक र सामाजिक प्रगतिमा दुवै देश एक अर्काका साथमा रहँदै आएका छन् ।

नेपाली विद्यार्थीहरुका लागि चिकित्सक र इन्जिनियर बन्ने आकर्षण बंगलादेशले कायम गरेको छ भने नेपालले औद्योगिक र कृषि उत्पादनको बजार बंगलादेशमा पाएको छ ।

हजारौं नेपाली विद्यार्थीहरु आजसम्म बंगलादेशमा अध्ययनरत छन् भने धेरै नेपाली डाक्टर र इन्जिनियरले बंगलादेशबाट विद्वता हासिल गरेर देश सेवा गरिरहेका छन् ।

नेपाल बंगलादेशबीच दुरी र अवस्था :

 नेपाल बंगलादेशबीच भौगोलिक दुरी करिब २४ किमि मात्र रहेको छ । बंगलादेशको फूलबारी सिधै जाने हो भने सडक दूरी मात्र ३७ किमी हुन्छ ।

सिलिगुडी बजार क्षेत्र बाट जाँदा पनि ४२ किमी सडक यात्रामा पश्चात नेपाल र वंगलादेश बीच सम्पर्क हुन सक्नेछ । नेपाल बंगलादेश बीचमा आवागमनका दुई माध्यम छन् ।

सिधा माध्यम हवाई सेवा हो । जुन काठमाण्डौ ढाका मात्र सञ्चालक छ । करिब डेढ घण्टाको हवाई यात्रा पश्चात ढाका काठमाण्डौ आउन या जान सकिन्छ ।

जुन यात्रा ४१५ माइल अर्थात ६६८ कि.मी. (हवाइ दुरी) छ । तर, पूर्वी नेपालको बिराटनगरबाट सिधा ढाका उडान सम्भव छ । बिराटनगरको एयरपोर्ट स्तरोन्नतिको चरणमा छ ।

जहाँबाट ढाकासम्मको यात्रा एक घण्टामा छोट्टिने छ । जुन ३७४ माइल अर्थात ४४० कि.मी.(हवाई दुरी) हुन जान्छ । यो एयरपोर्टबाट ढाका बिराटनगर सिधा हवाई जहाज सञ्चालन भएको खण्डमा पूर्वी नेपाल र बंगलादेशको ढाका बीच सिधा सम्बन्ध स्थापित भई दुवै पक्षको पर्यटन र आर्थिक विकासमा नयाँ सम्भावनाहरु अझ बुद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

हाल नेपालको सबैभन्दा नजिक सिलिगुडीबाट ढाका बस संचालन हुने गरेको छ ।

सन् २०१५ जुन १५ मा बंगलादेश, भूटान, भारत र नेपालबीच चारदेशीय यातायात आवागमन सम्झौता भएपनि सिलिगुडीबाट गएको बस र ढाकाबाट आएको बसले बंगलादेश र भारतको सिमाना बुढीमारीमा यात्रुहरुलाई साटासाट गर्ने गरेका छन् । सिधा आवागमनको सुविधा आफै हुन भने सकेको छैन ।

सिलिगुढी ढाकाको बस यात्रा करिब १२ घण्टाको हुने र ४८५ किमि यसको दुरी रहेको छ । चार देशीय सम्झौता भुटानको निष्कृयताका कारण कार्यान्वयन हुन सकेको छैन ।

जसको प्रत्यक्ष प्रभाव हामी दुई देशलाई परेको छ । हामी तीन देश भारत, बंगलादेश र नेपालले यस विषयमा पुनः छलफल गरि त्रिदेशीय यातायात सम्झौता गर्नेबारे कदम चाल्न जरुरी छ ।

पूर्व नेपालको बजार बंगलादेश :

करिब १७ करोड बंगलादेशी (१६ करोड २९ लाख ५१ हजार) बंगलादेशीच नेपालको प्रचार गरेर १% मात्र बंगलादेशीलाई आकर्षित गर्ने हो भने २० लाख पर्यटक भित्राउने हाम्रो लक्ष्यको करिब ८० प्रतिशत यहीबाट पूरा हुन सक्नेछ ।

त्यसपछि पनि हिन्दु बहुल देश र अधिकांश देवी देवताको थलो भएको नेपालले ९% हिन्दु नागरिक रहेका १ करोड ३८ लाख बंगलादेशीलाई आकर्षित गर्दा हाम्रो पर्यटनको बजार दिगो हुनेछ र हाम्रा लागि बंगलादेश राम्रो बजार हुन सक्छ ।

त्यस बाहेक करिब १० लाख बौद्धधर्म मान्ने बंगलादेशी नगारिक पनि हाम्रा लागि बजारको श्रोत बन्न सक्नेछन् । संसारका सबै बुद्ध धर्मावलम्बीको मुख्य श्रद्धाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी जानको लागि पनि यहाँबाट सहज हुने छ ।

बंगालीहरुमा घुमघामको संस्कृति अत्यधिक हुने गरेको छ । उनीहरु घुमघामका लागि आफ्नै देशभित्र रहेको कक्स बजार, सेण्ट मार्टिन टापु, सुन्दर वन, सिलेट जस्ता गन्तव्य जान्छन् ।

तर हिमाल र पहाडको दृष्यावलोकन र अनुभव गराउनका लागि उनीहरुलाई यता आकर्षित गराउन सकिन्छ । बंगलादेश घुम्ने खर्चमै हिमाल देख्न सकिने, हेर्न सकिने र छुन पाइन्छ भन्ने विश्वास दिलाउन सकेको खण्डमा हाम्रो पर्यटनको बजार बंगलादेशमा प्रसस्त छ । बंगलादेशमा हिमाल र पहाड दुवै छैनन् जुन हाम्रो पर्यटनको बलियो आधार हो बंगालीहरु बीच ।

नेपालीहरुका लागी पनि बंगलादेशको समुन्द्री टापुको भ्रमण, पानी जहाजको शयर र गार्मेन्ट सपिङको आकर्षण देखाउन सक्दा नेपाली पनि बंगलादेशमा भ्रमण गर्न जान उत्साहित हुन्छन् ।

पूर्वी नेपालमा सम्भावना :

बंगलादेशबाट नेपालको सबैभन्दा नजिकको क्षेत्र नेपालको १ नं. प्रदेश हो । २५ हजार ९०५ वर्ग किमि क्षेत्रमा रहेको एक नं. प्रदेशमा संसारको सबैभन्दा अग्लो सगरमाथा ८ हजार ८४८ मिटर सँगै तेस्रो अग्लो हिमाल कंचनजंघा ८ हजार ५८६ मिटर, मकालु ८ हजार४८१ मिटर र ल्होत्से हिमाल ८ हजार ५१६ मिटर रहेका छन् ।

करिब ४५ लाख ३५ हजार जनसंख्या (२०६८ सालका जनगणना अनुसार) रहेका यहाँका बासिन्दाको आर्थिक स्थिति पनि अन्य प्रदेशको तुलनामा सवल मान्न सकिन्छ ।

बंगलादेश र यो प्रदेशबीचको अन्तर सम्बन्धले दुवै देश बीचको पर्यटन बजारको सम्भावना उज्वल देखिन्छ ।

१ नं. प्रदेशको मुख्य पर्यटकीय आकर्षण :

यो प्रदेशको मुख्य पर्यटकीय आकर्षण प्रकृति (नेचर) साँस्कृतिक (कल्चर), साहसिक कृयाकलाप (एडभेन्चर)मा आधारित छ ।

पछिल्लो समय कृषि (एग्रीकल्चर)लाई पनि पर्यटकीय प्रोडक्टका रुपमा विकास गरिदै छ । पर्यटनका मुख्य चार आयामहरु आकर्षण÷गन्तव्य, पहुँच, पूर्वाधार र नागरिक सहभागितामापनि यो प्रदेश सवल छ ।

यहाँका तीनवटै हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा आकर्षणहरु रहेका छन् । ताप्लेजुङका कंचनजंगा र पाथीभरा मन्दिर प्रमुख आकर्षण हुन् ।

संखुवासभामा मकालु हिमाल र संसारकै होचो उपत्यका अरुण उपत्याकासँगै गुफापोखरी हिल स्टेशन विद्यमान छन् । सोलुखुम्बु विश्वप्रसिद्ध सगरमाथा रहेको जिल्ला हो ।

यहाँको पातले डाँडा हिमाल अवलोकनमा लागि उत्कृष्ट छ । यी तीनै जिल्लामा पहुँच समेत सहज छ । र न्यूनतम पूर्वाधारहरु पनि विद्यमान छन् ।

अतिथि देवो भवः भन्ने नेपालीको संस्कृतिका कारण पनि यहाँका नागरिक पर्यटनप्रति प्रतिबद्ध रहेका छन् ।

मुख्य पर्यटकीय आकर्षण :

धरान( दक्षिण एशियाका विकसित शहरहरुमा ब्रिटिश औपनिवेशको संस्कार अझै विद्यमान छ । धरान यस्तो शहर हो जसले ब्रिटिशहरुको बराबरीको संस्कार अंगाल्छ ।

बेलायती शैलीका घरहरु, हरेक गल्लीमा आफैले बनाएका पिच सडकहरु, सफा र हरेक घरमा रहेका फूलबारीहरुले धरानलाई बेलायती शहरको झल्को दिन्छ ।

संसारका सबैदेशमा नागरिक बसोबास गर्ने स्थलसम्म सडक, पानी, विजुली जस्ता आधारभूत आवश्यकताहरु सरकारले पुर्याउने गर्दछ ।

तर, धरान यस्तो सहर हो जहाँ नागरिक आफै सडकका लागि जग्गा दिन्छन्, बाटो बनाउन आधा पैसा दिन्छन् र निर्माणमा आफै खट्छन् ।

यो नागरिक सचेतना धरानको एउटा आकर्षण पनि हो पर्यटकहरुका लागी ।

त्यो सँगसँगै आधुनिकता, पुराणकालीन मठमन्दिर, विविध जातको संगम, भेडेटार हिल स्टेशन आदि धरानका आकर्षण बंगलादेशी पर्यटकका लागी आकर्षित गर्ने माध्यम बन्न सक्छन् ।

इलाम- इलमी (मेहेनती) हरुको जिल्ला इलाममा प्राकृतिक सौन्दर्यका साथै कृषिकर्मको विविधता हेर्न र अनुभव गर्न पाइन्छ । पहाडमा आँखाले हेर्न भ्याएसम्म रहेका चियाबगान मानौ पहाडमा हरियो कार्पेट ओछ्याएको हो ।

त्यस पछाडि देखिने कंचनजंगाले सबैलाई आकर्षित गर्ने गरेको छ ।

पहाडी जनजीवन, झरना, सन्दकपुर जस्तो सुन्दर हिल स्टेशन जहाँ हिउँ समेत खेल्न पाइन्छ त्यो बंगाली पर्यटकका लागि अविस्मरणीय बन्न सक्नेछ ।

यसबाहेक काँकडभिट्टा र बिराटनगरमा रहेको मिनि क्यासिनो, हिन्दुहरुका लागि पाथिभरा, बराहक्षेत्र, हलेसी महादेव (आफै उत्पन्न भएको शिवलिङ्ग) पनि आकर्षण बोकेका हुन् ।

अधिकांस बंगाली हिन्दूहरु देवीका उपासक हुन्छन् ।

स्वयं ढाका सहर पनि ढाकेश्वरी देवीको नाममा रहेको सहर हो । उनीहरुका लागि साक्षात प्रभाव दिने पाथीभरा देवीको मन्दिर मुख्य आकर्षणको केन्द्र बन्न सक्नेछ ।

ढाकेश्वरी र पाथीभराबीच धार्मिक सम्बन्ध विकास गर्न सकेको खण्डमा बंगलादेशी पर्यटकबाट यो प्रदेशले राम्रो प्रतिफल पाउने सम्भावना देखिन्छ ।

यहाँ हुने प्याराग्लाइडिङ, र्याफटिङ, साइक्लिङ र पहाडमा गरिने छोटा र लामो पदयात्रा पनि बंगलादेशी पर्यटकहरुका लागि नौलो स्वाद बन्न सक्ने देखिन्छ ।

वर्षभरि भइरहने कुनै न कुनै साँस्कृतिक गविविधिले समेत उनीहरुलाई रोमाञ्चकता र रमाइलो पक्कै दिलाउन सक्नेछ ।

दुई देशबीच पर्यटनका सम्भावना :

करिब साढे १६ करोड बंगलादेशी र ४५ लाख १ नं. प्रदेशबासीबीच पर्यटन आवागमन सहज भएको खण्डमा दुवै देशले यसबाट यथेष्ट प्रतिफल लिन सक्नेछ ।

बंगलादेशीलाई नेपाल आउँदा तेस्रो देशको भ्रमण हुनेछ । १ नं. प्रदेशलाई पर्यटनका लागि ‘रिजनल हब’ बनाउन सकिने सम्भावना प्रसस्त छ ।

विराटनगरको एयरपोर्टलाई क्षेत्रीय अन्तर्राष्टिूय एयरपोर्टका रुपमा सञ्चालन गर्दा एक नं. प्रदेशको नेपाल, भारत, भूटान र बंगलादेशको ‘टुरिज्म रिजनल हब’ बन्न सक्नेछ ।

जहाँबाट विदेशी पर्यटकहरु समेत आउजाउ गर्न सक्नेछ र जसबाट यी चारैदेशको पर्यटनमा सकारात्मक प्रभाव पर्नेछ ।

समस्या :

यतिका धेरै सम्भावना भएर पनि दुई देशबीच पर्यटन र आवागमनमा केही समस्या रहेका कारण दुवै देशले आशातित प्रतिफल लिन सकेका छैनन् ।

भिषाको समस्या :

नेपालीलाई बंगलादेशमा अनअराबल भिषाको सुविधा उपलब्ध छ । तर, त्यो ढाका एयरपोर्टमा मात्र छ । यहाँका नागरिक बसबाट बंगलादेश जानु पर्दा भने काठमाडौको दूताबासमा भिषा लिएर जानु पर्ने बाध्यता छ ।

बंगाली पर्यटकहरुलाई काँकडभिट्टामा नै पासपोर्टमा छाप लगाएर प्रवेशज्ञा दिइन्छ । तर भारतस्थित रानीजंग अध्यागमनले भ्हष्त भिषा दिन भने आनाकानी गर्ने र समस्या दिने गरेको सुनिएको छ ।

सूचनाको अभाव :

नेपाल घुम्न कम खर्चमा सकिन्छ । त्यसमा पनि बसद्वारा आएर १ नं. प्रदेश घुम्नका लागी बंगलादेशमै घुमेको खर्चमा घुम्न सकिन्छ भन्ने सन्देश दिन सकिएको छैन ।

त्यो सूचना दिन जरुरी रहेको छ ।

स्थानीय मुद्दा सटहरीको समस्या पनि अर्को समस्या हो । बंगलादेशी नेपाल आउँदा र नेपाली बंगलादेश जाँदा आफ्नो मुद्रा लिएर जाने र त्यहाँ साट्ने व्यवस्था छैन ।

डलर लिएर आउजाउ गर्नुपर्ने हुन्छ त्यो समाधान गर्न सकिने समस्या भएपनि दुवै देशले त्यो समस्यामा विचार गरेका भने छैनन् ।

पर्यटकीय क्षेत्रको सूचना अभाव :

बसबाट नेपाल आउन र घुम्नका लागि सहज छ । नेपालको पूर्वमा धेरै आकर्षण छन्, हिमाल हेर्न पाइन्छ जस्ता सामान्य कुराहरुको सूचना समेत हामीले बंगलादेशी नागरिकहरुलाई दिन सकेको छैनौं ।

बंगलादेशी नागरिकहरुलाई यो प्रदेशको पर्यटन जानकारी दिने विविध कृयाकलाप बंगलादेशमा गर्न जरुरी छ । जुन अहिलेसम्म हुन सकेको छैन । त्यसबाहेक भाषिक समस्या, खानपानको समस्या पनि हामी बीच विद्यमान छन् ।

सुझाव :

विगत धेरै वर्षदेखि यो क्षेत्र र बंगलादेशबीच आर्थिक कृयाकलाप र विकासका केही प्रयासहरु भएपनि हामी दुवै पक्षले यसबाट यथेष्ट प्रतिफल लिन सकेका छैनौं ।

तर, केही प्रयासहरु ठोस मात्रामा गर्ने हो भने उपलब्धी लिन समर्थ हुन्छौं । यसका लागि केही सुझावहरु प्रस्तुत गरिएको छ ।

एयर कनेक्टिभिटी :

विराटनगरको एयरपोर्टबाट क्षेत्रीय अन्तर्राष्टिूय उडान सुचारु गर्न सर्वप्रथम आवश्यक देखिएको छ । यसले नेपालको पूर्वी क्षेत्रलाई तुलनात्मक रुपमा अझ धेरै प्रतिफल दिने सम्भावना छ ।

विराटनगर ढाका हवाई सम्पर्कले हामी दुवै अझ नजिक हुने हौं र हामीले अझ धेरै प्रतिफल लिन सक्नेछौं ।

सिधा बस सेवा :

चारदेश बीचको यातायात सम्झौताको सफल कार्यान्वयन गर्दै १ नं. प्रदेशबाट ढाकासम्म सिधा बस सञ्चालन गर्न सकेको खण्डमा समेत हाम्रो सम्बन्ध झनै नजिक र मध्यमवर्गीय नागरिकबीच समेत हुने सम्भावना रहन्छ यसतर्फ दुवै देशले सोच्न जरुरी रहेको छ ।

चार देशीय सम्झौता कार्यान्वयन हुन सकेको छैन । हामी तीन देश भारत, बंगलादेश र नेपालले यस विषयमा पुनः छलफल गरि त्रिदेशीय यातायात सम्झौता गर्नेबारे कदम चाल्न जरुरी छ ।

पर्यटकीय गतिविधिको आदान प्रदान :

पूर्वी नेपालमा भएका पर्यटकीय आकर्षणका बारे बंगलादेशमा प्रवद्र्धन जरुरी छ । त्यस्तै दुवै क्षेत्रका टुर अपरेटरहरुको दुवै क्षेत्रमा भ्रमण र लिङ्केज गर्न जरुरी छ ।

अझ बंगलादेश टुर अपरेटर र यहाँका टुर अपरेटरहरुबीच सम्बन्ध विकास तथा सूचना आदान प्रदान गर्न समय समयमा फेम टिूप गर्दा समेत यस्तो प्रतिफल दिने सम्भावना व्यापक देखिन्छ ।

सूचना केन्द्र : बंगलादेशका मुख्य शहरहरु ढाका, चिटागाउँ, कक्सबजार लगायतमा नेपाल र त्यसमा पनि यो प्रदेशको पर्यटकीय, औद्योगिक र कृषि उत्पादन बारेको सूचना प्रदान गर्ने गरि सूचना केन्द्र राख्न जरुरी छ । यसले एकातर्फ त्यहाँका नागरिकले सही सूचना पाउने र नेपाल घुम्न प्रेरित गर्नेछ भने अर्कोतर्फ ती शहरहरुमा यताको प्रवद्र्धनात्मक गतिविधि निरन्तर गर्न सहज हुनेछ ।

भगिनी सम्बन्ध : सबैभन्दा मुख्य र सहज माध्यम भनेको सम्बन्ध विकास हो । त्यहाँका शहर र नेपालका केही शहरहरुबीच जस्तै औद्योगिक शहरको औद्योगिक शहर सँग, शैक्षिक शहरको त्यस्तै प्रकृतिको शहरसँग, पर्यटकीय शहरको त्यहाँको पर्यटकीय शहरसँग मितेरी साइनो वा भगिनी सम्बन्ध कायम गर्दा पनि हामी बीचको अन्तर सम्बन्ध विकास हुन सक्छ ।

यसले एकातिर नागरिक स्तरमा सम्बन्ध विकास भई विकाश र समृद्धिका प्रयासहरुको अनुभव आदान प्रदान हुनेछ जसले अन्तत्वगोत्वा सर्वाङ्गिण विकासमा सघाउ पुर्याउनेछ ।

र अन्त्यमा, मैले विषय उठान गरेको मात्र हो । विकासका लागि सबैले आ(आफ्नो ठाउँबाट प्रयास गर्दा सफलता सम्भव छ । हामी त्यही सम्भव हुने बाटोमा लागेका छौं ।

२०७५ मंसिर २ गते नेपाल बंगलादेश फ्रेण्डशिप सोसाइटी इन इष्टर्न नेपाल र नेपाल स्थित बंगलादेश राजदुतावासबाट धरानमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र ।

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved