जिरोपोइन्ट / दोस्रो मेयर कप स्कुल ओलम्पिकको बाँस्केटबल तर्फको सम्पुर्ण खेल सम्पन्न भएको छ । यस वर्षको बाँस्केटबलको स्वर्ण पदक छात्रामा नवज्योति स्कुलले प्रथम हुदै जित्न सफल भएको छ भने छात्र तर्फ पहिलो ओलम्पिककै विजेता डिपो स्कुलले जित निकाल्दै स्वर्ण पदक हात पारेको छ ।
मंगलबार भएको छात्रातर्फको फाईनल खेलमा नवज्योति स्कुलले पर्वतलाई २१—१५ ले पराजित गरेको हो । पहिलो क्वाटरमा ०—६ ले पछि परेको नवज्योतिले स्थितिलाई उल्ट्याउदै दोस्रो क्वाटरमा ९—६ को अन्तर बनाउन सफल भएको थियो तर पुनः तेस्रो क्वाटरमा ५—६ ले पछि परेको थियो । यसरी निकै प्रतिष्पर्धात्मक बनेको खेलको अन्तिम अर्थात चौथो क्वाटरमा ७—० ले पर्वतलाई हराउदै आफ्नो जित पक्का गरेको हो । नवज्योतिलाई जिताउन लियालिसा श्रेष्ठले ११ अंकको योगदान गरिन् ।
मंगलबार नै भएको छात्रतर्फको फाईनल खेलमा डिपोले चिरपरीचित प्रतिद्वन्दी कार्मेललाई ५१—४९ ले हराएको हो । पहिलो र दोश्रो क्वाटरमा क्रमशः १२—१६ र ७—१५ ले पछि परेको स्थितिलाई उल्ट्याउदै डिपोले तेश्रो र चौथो क्वाटरमा क्रमशः १३—७ र १९—११ को अग्रता बनाउदै दोश्रो पटक च्याम्पियन बन्न सफल भएको हो । पहिलो संस्करणमा पनि डिपो र कार्मेलले नै फाईनल खेल खेलेका थिए । डिपोलाई जिताउनका लागि बैभव योगीले २२ अंकको योगदान गरे ।
फाईनल खेलसगै छात्रातर्फ पर्वत र छात्रतर्फ कार्मेलले रजत पदकमा चित्त बुझाएको छ । त्यसैगरी छात्रातर्फ आइडल स्कुल र छात्रतर्फ लोटस स्कुल तेस्रो हुन सफल हुदै कास्य पदक जितेको छ ।
छात्रातर्फ नवज्योतिकी जर्सी नम्बर २१ लियालिसा श्रेष्ठ र छात्रतर्फ डिपोका जर्सि नम्बर ७ बैभव योगी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । उनिहरूले बास्केटबल १÷१ थान, मेडल, प्रमाणपत्र र फाईनल खेलमा उपस्थित विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले खेलाडीलाई जनही नगद २÷२ हजार रूपैयाँ प्रदान गरे ।
खेलमा छात्रातर्फ पर्वतकी शितल तामाङले १५ अंक ल्याएर हाई स्कोर गरीन त्यसैगरी छात्रतर्फ भने डिपोका बैभव योगि र कार्मेलका अनिस राईले समान २२ अंक ल्याएर हाई स्कोर गरेका छन् ।
विजेतालाई प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष प्रविण राई, नेपाल बास्केटबल संघ केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरीका अध्यक्ष नारायण सुबेदी, डिपोका प्रधानाध्यापक राजकुमार राई, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायतले पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।