विराटनगर/विराटनरसँग सिमा जोडिएको मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा सोमबार राति मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएको प्रहरीमाथि नै जाइलाग्ने बहालवाला प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका प्रहरी हवल्दार सबदनारायण चौधरीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । उनीसहित तीन स्थानीय पक्राउ परेका थिए । चेकजाँचको क्रममा स्थानीय र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो । चौधरी सोही ठाउका हुन् ।

उनले पनि प्रहरीको काममाथि सहयोग गर्नुको सट्टा स्थानीयलाई सहयोग गर्दै प्रहरीमाथि हातपात गरेको अभियोग लागेको छ । उनीसहित कटहरी–१ का ४५ वर्षिय अनन्तराम चौधरी र ५५ वर्षिय जोगनारायण चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

हातपातमा संलग्न अझै चार स्थानीय फरार छन् । फरार हुनेमध्ये एक पूर्व प्रहरी रहेको एसपी केसीले जानकारी दिए । सबद नारायण हाल प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए । हवल्दार चौधरीलाई मोरङ प्रहरीले निलम्बन गरी थप कारबाही अघि बढाएको एसपी केसीले बताए ।

भडपमा परी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते बनेका थिए । स्थानीयले राईलाई बियरको बोतल प्रहार गरी टाउकोमा चोट पुर्याएको थियो । घाइते राईको विराटनगरस्थित कोशीअञ्चल अस्पतालमा उपचार गरिएको थियो ।

कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गर्दा सबैले मापासे गरेको भेटिएको छ । स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीको सिटी बैंक सिआरभी पोष्टको ना १ झ ९२० नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ ।

उनका अनुसार ड्युटीका प्रहरीलाई दुरव्यवहार गर्न थालेपछि स्थितीलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय बासिन्दा भेला जम्मा भएर प्रहरीमाथि नै आक्रमण गरेका छन् ।

स्थानीयले भने प्रहरीले ड्युटी र चेकजाँचका नाममा गाउँमा पसेर ज्यादती मच्चाएको आरोप लगाएका छन् । स्थानीय बासिन्दाले प्रहरीले ज्यादती गरेको भन्दै घटनाको विरोधमा मंगलबार विराटनगरमा प्रदर्शन समेत गरेका छन् ।

उनीहरुले प्रहरीको ज्यादती बन्द गर्नु पर्ने, दोषी प्रहरीमाथि कारवाही गरिनु पर्ने, विना कारण पक्राउ गरिएका तीनै जना निर्दोश रहेको भन्दै उनीहरुलाई विना सर्त छाडिनु पर्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।