तेह्रथुम / तेह्रथुम र संखुवासभाको संगमस्थलमा रहेको पाथीभरा भगवतीको मन्दिर जिल्ला कै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । तीनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्धारमा रहेको यो मन्दिरमा टाढा टाढाबाट पर्यटक तथा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताएका छन् । तेह्रथुमको लालीगुँरास नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाको सिमानामा रहेको यस मन्दिरमा पुजा आजा गर्न तथा यस आसपासका रमणीय क्षेत्रहरुको दृष्यावलोकन गर्न पर्यटकहरुको मुख्य रोजाई हो । जिल्लाको चर्चित धार्मिक स्थलहरुमध्ये अध्ययन भ्रमण, वनभोज स्थल र बिशेष चाडपर्वमा निकै ठूलो जमघट हुने गरेको स्थानीय दिलबहादुर सुवेदीले बताए ।

पाथीभरा मन्दिर हिन्दुहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यसलाई सानो पाथीभरा समेत भन्ने गरिएको छ । धागोको डोरोले मन्दिरलाई तीन फन्कोसम्म लगाउँदा चुटिएन भने पाथीभरा भगवतीसँग गरेको विश्वास कहिल्यै पनि नटुट्ने धार्मिक विश्वास रहेको छ । यहाँबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले मागेको कुरा सबै पुग्ने विश्वास गरिएको स्थानीय गीता खड्काले बताइन ।
सामुन्द्रिक सतहबाट २ हजार ९ सय २० मिटरको उचाइमा अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पहाडको टुप्पोमा देवीको उत्पतिस्थल भएको पौराणिक विश्वासको आधारमा यस ठाउँमा बिस २०५३ सालमा पाथीभरा मन्दिरको स्थापना गरिएको स्थानीयले बताए ।

कसरी पुग्ने ?
तेह्रथुमको सदरमुकाम म्याङलुङबाट २८ किलोमिटर पश्चिममा टुटे देउराली पुगिन्छ । टुटे देउरालीबाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदल गए पछि पाथीभरा पुगिन्छ । कोशी पहाडी राजमार्ग अन्र्तगत धरान, धनकुटा, बसन्तपुर हुदै टुटे देउराली जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथीभरा मन्दिर पुग्ने पहिलो खुड्किलो पुगिन्छ । उक्त खुड्किलाबाट हजार खुड्किला पार गरेपछि पाथीभरा मन्दिर पुग्न सकिन्छ । मन्दिरमा विशेष गरी नयाँ वर्षमा लालीगुराँस फुल्ने भएकाले उक्त सिजनमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।