इटहरी  / इटहरीको ब्यस्त बजारमा बुधबार दिउँसो एक ब्यापारी लुटिएका छन । इटहरीको एक्टिभ मनि ट्रान्सफरका संञ्चालक सविन दाहाललाई लुटेराले छुरा प्रहार गरी नगद लुटेर भागेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाईते भएका दाहालको धरानस्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

मुखमा कालो पट्टी बाँधेर आएका व्यक्ति र संचालक बिच केही समय घम्साघम्सीसमेत भएको थियो । सो क्रममा लुटेराको छुरा प्रहारबाट संचालकलाई घाइते बनाएर काउन्टरमा रहेको नगद लुटिएको प्रत्यषदर्शीले बताए । मनि ट्रान्सफरसँगै रहेको मेघा डेण्टलका डा. तृप्त नारायण यादवले घाइते संञ्चालकलाई अस्पताल पुराएका थिए ।

लुटेराले प्रयोग गरेको छुरा ट्रान्सफर मै खसेको छ । पैसा लुटेर दौडिदै दुईजना भागेको प्रत्यक्षदर्शीले देखेका छन्
मनि ट्रान्सफर ठिक अगाडी केही मिटरको दुरीमा प्रहरी बिट रहेको छ । घटना भएको आधा घण्टापछि मात्र प्रहरीको टोली घटनास्थल पुगेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले लुटपाटमा संलग्नको खोजी भईरहेको बताए ।