मेन्छ्यायेमको महत्व

alt
  • मंसिर १४, २०७५
  • ५११ पटक पढिएको
  • देव सुब्बा ईजम

याक्थुङ लिम्बुहरुको मनोविज्ञानमा मानव विकासको शुरुवातमा तागेरा निवाफुमा माङ समुदायको हितका लागि आएको विश्वास गरिन्छ । त्यसैले तागेरा निवाफुमा माङ याक्थुङ लिम्बु समुदायको सर्वोच्च आत्मा भएको कुरामा कुनै शंका छैन ।

शुरुवाती समयमा एक अलौकिक शक्ति समुदायमा पटक-पटक देखा पर्ने भएकाले त्यो शक्तिलाई सही पहिचान गर्न अगाडि सम्म एक शब्दमा नभइ वाक्यमा त्यो शक्तिलाई उत्त समुदायले सम्बोधन गरेको देखिन्छ ।

उक्त शक्ति मानव समुदायको विकास क्रमसँगै विभिन्न समयमा अधिकांश समय एक सन्त प्रौढ महिलाको रुपमा देखा पर्ने भएकोले उक्त आत्मालाई विस्तारै युमा भनी सम्बाेधन गरिन थालेको मुन्धुमी वर्णनअनुसार बुझ्न सकिन्छ ।

सायद सन्त प्रौढ महिलाको रुपमा सन्देश तथा उपदेश दिदा अन्यले मान्ने भएर युमाले अधिकांश यस्तो रुप धारण गरेको हुनु पर्छ ।

युमा साम उत्रिएका याक्थुङ लिम्बु समुुदायका महान व्यक्तिहरुले युमा नै तागेरा निवाफुमा माङ भएको धेरे पटक बकेको मुन्धुमी वर्णन पाइन्छ । त्यस कारण पनि हामी तागेरा निवाफुमा युमाको स्थायी रुप हो । र यसलाई तागेरा निवाफुमा युमा माङ भनेर निचोड निकाल्न सक्छौ ।

हुनत सांसारिक दुनियामा युमाको रुप धेरै देखिन सकिन्छ । जस्तै युमा माङ , युमा साम्माङ, युमा साम अन्य रुपहरु आदि । त्यसैले केही मानिसहरु युमालाई युमा माङ भनेर जान्दछन । केहीले युमा साम्माङ भनेर बुझ्दछन । त केहीले युमा साम भनेर बुझ्दछन् ।

आफ्नो बुझाइको स्तर अनुसार युमा लाई बुझने वा जान्ने अवस्था छ । तर युमा नबुझ्ने थाक्थुङ लिम्बु समुदायको सदस्य कमै छन । कुनै अस्तित्वको धेरै अवस्थाहरु हुदा मुख्य अस्तित्वलाई प्रधान मान्नु पर्ने हुन्छ ।

यही युमाको सर्वव्यापकता पुर्वका याक्थुङ लिम्बु जातिमा पाइन्छ ।

जसको प्रभावले सदियौ सम्म याक्थुङ लिम्बु समुदायलाई मातृसत्तात्मक परिवारिक संरचनामा रहेको पाइन्छ । एउटा अत्यन्तै महत्वपुर्ण कुरा के छ भने याक्थुङ लाजे लिम्बुवान क्षेत्रको प्रकृति माथि यो मनोविज्ञानको बर्चस्व रहेको पाइन्छ ।

यस क्षेत्रका विभिन्न खोला नाला विषेश गरि इम्विरी इवामा ( तम्बर खोला ), यहाका हिमालय पर्वत ( फक्ताङलुङ कुम्भकर्ण) सेमुक्ति मुक्तिबुङ , मकुमलुङ ( पाथिभारा ) तगायत यस क्षेत्रका महन्वुर्ण स्थलहरु युमा दर्शनले नछोएको विरलै पाइन्छ ।

यस्तै एक पवित्र डाडाको नाम मेन्छ्यायेम थेगु। कोक्मा अथवा डाडा को । यसको धार्मिक, सास्कृतिक, मुन्धुमी, पर्यटकीय महन्व याक्थुङ लिम्बु समुदाय तथा गैर याक्थुङ लिम्बु समुदायका लागि अत्यन्तै ठूलो छ ।

यो याक्थुङ लिम्बु समुदायमा लामो समय युमा माङको एक यौवनरुपी आत्मीक उपस्थिति तथा याक्थुङ लिम्बु थक्लुुङ थरी सुकरानी नामकी चेली युमा उत्रिएर यस डाडामा रहेकाले मेन्छ्यायेम रहेको हो । मेन्छ्या भन्नाले याक्थुङ लिम्बु भाषामा तरुनी वा तरुण महिला भन्ने बुझिन्छ ।

भने येम भन्नाले समय वा उभिनु र रहनु भन्ने बुझिन्छ । यसरी यसको नाम तरुनी उभिने ठाउ भनेर यसको नामांकनले पुर्णता पाएको हो । यो एकातिर मिथकमा आधारित छ भने अर्कातिर वास्तविक घटनाले यसको महत्वलाई फरकिलो बनाएको छ ।

मेन्छ्यायेमको प्राकृतिक सौन्दर्य मेन्छायेम पुर्वी पहाडमा पर्ने ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लाको सिमाना स्थलमा पर्दछ ।

यो डाडा हाल पुर्व उत्तरमा ताप्लेजुङ जिल्लाको मैयाखोला गाउपालिका, उत्तर पश्चिममा संखुवासभा जिल्लाको चयनपुर नगरपालिका तथा दक्षिण पश्चिममा तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिकाको सिमानामा पर्दछ । यो स्थलको फैलावटले सबै स्थानिय भुगोललाई समानता प्रदान गरेको छ ।

यो यति सुन्दर स्थल छ । यसलाई जुनै स्थानीय निकायले आफ्नो भनेर दावी गर्न लायक छ । यो वसन्तपुर देखी तीनजुरे मिल्के हुदै गुफा पोखरी बाट लगभग तीन किलोमिटर उकालो लाग्दा ३२०० मी. उचाईमा यो डाडा अवस्थित छ ।

यहा पुग्न पर्यावरणीय अनुकुलता नभएका मानिसको लागि लेक लाग्न सक्छ । केही कठिन उकालो पार गरे पछि यहा स्वर्गीय आनन्द मिल्ने एक डाडा सुतीरहेका आभास हुन्छ । जसको काखमा ढल्किरहु झै लाग्ने फैलावट भएको डाडा छ यो ।

यहा गुरासका बोटहरु प्रयाप्त छन् । मौसम नखुलेको दिन परे पनि केही कमी महशुस हुन्न त्यहा किनकी यहा बाट तेह्रथुम र संखुवासभा तिरका ठुला ठुला लेक चरन फाटहरु देख्न सकिन्छ । त्यहा प्रयाप्त चौरीहरु यत्र तत्र छरिएर चरिरहेको देख्न सकिन्छ ।

यदी त्यस्तो दृश्य देख्न कतै देख्न पाइएन भने पनि चरिरहेका चौरिहरुको गलामा झुण्डयाइएका घन्टीहरु बजीरहेको आवाज सुन्न सकिन्छ । यदि त्यस्तो भएन भने पनि आगन्तुकहरुको आगमनलाई स्वागत गर्न यी खुल्ला फाटहरुमा भेला भएर गुरासका बुट्टाहरुलाई छल्दै लुकी लुकी भेट्न आउने चिसा कुहिराहरुको न्यानो माया पाउन सकिन्छ ।

दिन निकै राम्रो खुलेको रहेछ अवस्थामा यो स्थलबाट यस ओरिपरिका १८ जिल्लाहरु एकै नजरमा देख्न सकिन्छ ।

यहा बाट केही तल मुन्धुमी पात्र पोराक्मी यम्भामी माङले घोप्ट्याएका ढुंगाहरु गुडिरहेका जस्तो देख्न सकिन्छ । यहा बाट ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका विभिन्न स्थलमा जाने आउने यात्रीहरुको उपस्थिति जनाउने आवाजहरुले झन रोमाञ्चकता थपिरहेको हुन्छ ।

कोही यहा एक्लै पुगे पनि केही दुरीमा रहेको गुफा पोखरीको आखाले सुरक्षा प्रदान गरिरहेको हुन्छ ।

यहा बाट प्राय मुन्धुमी स्थलहरु फक्ताङलुङ (कुम्भकर्ण), कन्चनजंघा साथै अन्य हिमालहरु सेताम्य देख्न सकिन्छ । साथै धार्मिक स्थलहरु मुकुमलुङ (पाथिभारा ) लगायत मुन्धुमी धेरै मन्धुमी स्थलहरुको दृश्यालोकन गर्न सकिन्छ ।

मुन्धुमी महत्व
यही सुन्दर प्राकृतिक स्थल संग थाक्थुङ लिम्बुको मुन्धुम जोडिएर आउछ । यसले मुन्धुमका धेरै पक्षहरुलाई जोड्छन । यस स्थानमा युमा माङले धेरै उपस्थिति जनाउने तथा दर्शन दिने गरेको मुन्धुमी चर्चा छ ।

मुन्धम अनुसार यहा यस्तो आत्मा देखा पर्दथ्यो । जुन विहान घाम झुल्किने समयमा किशोरीको रुपमा देखिन्थ्यो । मध्य दिनमा एक वयस्क सुन्दर तरुनीको रुपमा र साझ पख एक प्रौढ महिलाको रुपमा देखा पर्दथ्यो भने वेलुका त्यो आत्मा अलाप हुन्थ्यो ।

यो उपस्थिति बाट याक्थुङ लिम्बु समुदायले के सिके ? याक्थुङ लिम्बु समुदायका युवा युवतीले के ज्ञान प्राप्त गरे ? यो गहरिएर अध्ययन त गरिएको छैन । तर मानव जगतलाई यो मानव जुनी नासवान छ ।

यौवन पनि नासवान छ । यो धरतीका सबै अस्तित्वहरुको अन्त्य छ । जन्म , जीवन र मृत्यु एक चक्र हो ।

सुन्दरता र यौवन पनि नासवान छ भन्ने अन्तरज्ञान प्राप्त गरेको हुन पर्छ । यो डाडामा सधै जसो दिनमा युवती सुसेली खेल्दै, पातको संगीत निकाल्दै रहने हुनाले उक्त तरुनी प्रति पोरोक्मी यम्भामी माङ आर्कसित भएको र थाक्थुङ लिम्बु समुदायका युवा युवतीले यहीबाट धान नाच्न सिकेको, यही बाट युवा युवती बीच एक अर्का प्रति गरिने सालिन ब्यबहार सिकेको सम्मको विश्वास गरिन्छ ।

पोरोक्मी यम्भामी माङ उक्त युवती प्रति आसत्त भई विहे गर्ने प्रस्ताव गर्दा उक्त तरुनीले उक्त डाडामा भाले नवासी घर निर्माण गर्न सक्यौ भने विहे गर्ने शर्त राखेको मुन्धुमी बर्णन छ । उक्त स्थानमा ढुगां नपाइने हुनाले शर्त बमोजिम पोरोक्मी यम्भामी माङ ढुंगा लिन गएको ।

राती प्रयाप्त ढुंगा ल्याउने क्रममा केही खस्रा ढुंगाहरु लुङथाकी ( हाल नुनुढाकी ) मा झारेको र मेन्छ्यायेममा पुग्न लाग्दा उत्त आत्माले साचिकै विहे हुने भो भनी उज्यालो हुन अगाडि नै भाले बासेको आवाज दिई पोरोक्मी यम्भामी माङलाई भ्रमित पारेकोले पोरोक्मी यम्भामी माङले पनि विहे गर्ने शर्त पुरा गर्न नसकेको , घर निर्माण गर्न अगाडि उज्यालो भएको भनी आफुले बोकेर ल्याएका ढुंगा डाडामा नपुगी केही तल घोप्ट्याएर फर्किएको मुन्धुममा बर्णन छ ।

तर पोरोक्मी यम्भामी माङ भाले बासेकाले उज्यालो भयो भनी फर्की लामो समय हिड्दा समेत उज्यालो नभएकोले आफुले तरुनीबाट धोखा खाएको बुझी पारी बाट ठुलो चट्टानले उत्त डाडा भत्काउन छेलो हानेको समेत मुन्धुम छ ।

यो ठाउमा अझ छरिएका ढुगा र छेलो हानेको ढुंगा यथावत छदैछ । यही बाट लिम्बु युवाहरुले घर गृहस्ती निर्माण गर्नु पर्छ भन्ने ज्ञान प्राप्त गरेको साथै आफ्नो शक्ति प्रर्दशन गर्न छेलो ( पक्लुङ ) हान्ने खेल सिकेको कुरा समेत मुन्धुमी बर्णनमा छ ।

धार्मिक महत्व
मेन्छ्यायेम डाडा एक पवित्र डाडा भएकाले युमा दर्शनमा यसको धार्मिक महन्व अत्यन्तै ठुलो छ । यहा पोरोक्मी यम्भामी माङको समेत उपस्थितिले यसको धार्मिक महत्व अझ बढी छ । यो एक उच्च डाडा भएकाले पनि यसलाई पवित्रताको दृष्टिकोणले हेरिन्छ ।

यसको धार्मिक महत्व र ब्यापकता जब हाल मैवाखोला गाउपालिका का थक्लुङ थरकी चेली २०१० दशकमा अचानक हराइन् । त्यस समय देखि यो थेगुको चर्चा झन बढेको हो । उक्त हराएकी चेली यस डाडाको एक गुफामा झ्याम्टा बजाउदै गरेको भेटिएको उनी युमा उत्रीएको र उक्त ठाउमा हाल माङधान ( देवीथान ) बनाइएको छ ।

जसको नजिक रहेको पोखरीलाई पछि गुफापोखरी नामांकन गरिएको छ । हरेक बालाचर्तुदर्शीका दिन अहिले पनि यहा ठुलो पुजाआजा पछि मेला गलाउने गरिएको लिम्बु जातिका थुक्लुङहरुको बंशावलीमा लेखिएको छ ।

यसका साथै मेन्छ्यायेम डाडाको केही दुरीमै कोच्वात ( तातोपानी ) पोखरी तथा ढुङ्गे धाराहरु निर्माण गरिएको छ । यी सबैका धार्मिक महन्व अन्यन्तै बृहद छ । यो सँगै मानव र आत्मा बीच एक अर्कामा अदृश्यहुने वाचा गरेको स्थल मिक थेक्थेक ( हाल मिल्के ) पनि मुन्धुमी धार्मिक महत्वका ब्यापक छ ।

सास्कृतिक महत्व
याक्थुङ लिम्बु समुदायका युवा युवतीहरुले यहाबाट जीवन दर्शनको ज्ञान प्राप्त गरेको हुनाले यो डाडालाई याक्थुङ लिम्बु समुदायका युवा युवतीमा लागि सर्मपित डाडाको रुपमा लिइन्छ । अझ विशेष गरी यो मेन्छ्यायेम थेगु याक्थुङ लिम्बु समुदायका युवतीहरुका लागि सर्मपित पर्वत हो ।

विश्वमा महिलाहरुका लागि समर्पित एक मात्र यो पर्वत हो । यो महिलाहरुको सम्मान, इज्जत र प्रतिष्ठाको प्रतीक हो ।

यसैले यसलाई याक्थुङ लिम्बु समुदायको चारूलुङ रुपमा लिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तिल विक बैरागी काईला यसै कुरालाई जोड दिदै याक्थुङ लिम्बु युवा युवतीहरुको सिद्धि स्थलका भएको कुरा उल्लेख गर्नु भएको छ ।

यो डाडाबाट विशेष गरि युमा माङ मार्फत याक्थुङ लिम्बु समुदायका युवा युवतीले ब्यवहारिक स्वभाव पुर्णता प्राप्त गरेकाले समेत आफ्नो जीवनकालमा उक्त ठाउमा पुगेमा सिद्धि प्राप्त हुने कुरामा विश्वास गरिएको छ । कतिपय मांगेना मुन्धुममा यस थेगुको चर्चा र तुलना गरिन्छ ।

थक्लुङ युमा चेलीको उपस्थितिले यो शिकाई लाई पछिल्लो पुस्ता सम्म हस्तान्तरण गरेको छ । लिम्बु समुदायका युवा युवतीहरु यही डाडाको फेद हुदै एक दशक अगाडि सम्म पैदल हिड्थे । गुफाबाट गोर्जा तेह्रथुम ताप्लेजुङ जादा होस या नुनढाकी हुदै संखुवासभा ताप्लेजुुङ जादा होस् । याक्थुङ लिम्बु समुदायका युवा युवतीहरु उच्चो डाडा तिर हेर्दै सुसेला खेल्ने, मेन्छ्या देखिन्छिन कि भन्दै अझै हेर्ने गर्दछन ।

मेन्छ्यायेमको चर्चा बर्णन यतिमै सकिदैन । यसको धार्मिक, सास्कृतिक, प्राकृतिक महत्व अगाध छ । तर यसको मेरुदण्ड भनेको मुन्धुमी विश्वास र मान्यता नै हो । यो जतिसुकै सुन्दर भएपनि यसको मुन्धुमी परिघटना वर्णनको अभावमा यो फिक्का हुन्छ । यसलाई अन्य खालको भौतिक संरचनाको विकासले मुन्धुमी विश्वासलाई समाप्त पार्ने हुनाले यस्तो कदम जो कोही बाट पनि चाल्नु राम्रो होइन ।

युमा दर्शन अभियन्ता

उदयपुरमा पिक्निक गए ...

उदयपुर / उदयपुरको चिम्चुङ्बुङमा पिक्नीक खाएर फर्कन ...

अपराधमा वारीपारीकाे ...

दमक /  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी त ...

अक्षयकोष स्थापना ...

तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत ...

दुर्घटनामा ३ दिनकी स ...

पाल्पा / सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका&nda ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved