पाँचथर/ फाल्गुनन्द गाउँपालिकार–५, घुर्बिसे पञ्चमी बजारमा आयोजित ‘घुर्बिसे पञ्चमी गोल्डकप’ यो सिजनमा सम्पन्न जिल्लाको पछिल्लो फुटबल प्रतियोगिता हो । प्रतियोगिताको दोस्रो संस्करणमा अफ्रिकन मूलका विदेशी खेलाडीको खेल हेरेर स्थानीय फुटबलप्रेमी दङ्ग परे ।

आइभरिकोष्टका दुई खेलाडीसहित मैदान उत्रेको स्थानीय फाक्तेप खेलकुद परिषद्ले एक लाख एक हजार २ सय २२ रुपैंयाँ पुरस्कार राशीको प्रतियोगिताको उपाधि उचाल्यो । घुर्बिसे पञ्चमी गोल्डकप जिल्लामा यो सिजनमा सम्पन्न सातौं प्रतियोगिता हो ।

पछिल्लो समय जिल्लामा फुटबल प्रतिको क्रेज बढ्दो छ । सदरमुकामदेखि टाढाका गाउँ–गाउँमा स्थानीय क्लबले ठूला–ठूला प्रतियोगिता आयोजना गरिरहेका छन् । दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आयोजित दोस्रो आमन्त्रित ‘कुम्मायक–कुस्सायक गोल्डकप’ बाट शुरु भएको यो सिजन फुटबलमय बनिरहेको छ ।

तीन लाख ११ हजार पुरस्कार राशीको ‘कुम्मायक–कुस्सायक गोल्डकप’ मा नेपालका राम्रा क्लबलाई सहभागी गराइएको थियो ।

बैशाखमा सम्पन्न ‘कुम्मायक–कुस्सायक गोल्डकप’ पछि बैशाखमै फाल्गुनन्द–१, नवमीडाँडाँमा सम्पन्न ‘सुखमाया आङदेम्बे स्मृति गोल्डकप, फिदिम–७ रानीटारमा असोजमा सम्पन्न ‘रानीटार गोल्डकप’ कार्तिकमा यासोकमै सम्पन्न ‘दोस्रो करेन्ट कुम्मायक गोल्डकप’ फिदिममा सम्पन्न ‘तरुण गोल्डकप’ जस्ता प्रतियोगिता जिल्लामा सञ्चालित राम्रा प्रतियोगिता हुन् ।

न्यूनत्तम एक लाखभन्दा माथि पुरस्कार राशी भएका यी प्रतियोगिताले जिल्लामा फुटबल खेलको प्रवद्र्धनमा सहयोग पुगेको ‘घुर्बिसे पञ्चमी गोल्डकप’ का आयोजक नाम्तोक युवा क्लबका सचिव विनोद आङदेम्बे बताउँछन् ।

उनले भने– ‘गाउँस्तरमा सञ्चालित क्लबहरूले आफ्नै लगानी र प्रयासमा यतिको प्रतियोगिता निरन्तर सञ्चालन गर्नु ठूलो कुरा हो ।’ उनले थपे– ‘यसले स्थानीय स्तरमा फुटबल खेल विकासमा सहयोग त पुगेको छ नै आन्तरिक पर्यटन प्रवद्र्धन पनि भएको छ ।’

पाँचथरमा ०४९/५० सालदेखि जिल्ला बाहिरको टिमसमेत सहभागी गराएर व्यवसायिक खेल्न थालिएको एन्फा पाँचथरका प्रशिक्षक पासाङ तामाङ बताउँछन् । यद्यपि लगानीको कमीले गर्दा जिल्लामा अझै पनि सोचेजस्तो फुटबल खेलको विकास हुन नसकेको तामाङको भनाइ छ ।

जिल्लामा फुटबल खेलको विकासका लागि आठवटै स्थानीय तहका प्रमुखसँग कुराकानी गरिरहेको जिल्ला फुटबल सङ्घ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताए । उनले भने– ‘अहिले जसरी गाउँ–गाउँका क्लबहरूले फुटबलप्रति एउटा प्रेम देखाइरहेका छन्, त्यो अत्यन्तै सकारात्मक छ, यसमा स्थानीय सरकारले वार्षिक रूपमै बजेटको व्यवस्थापन गर्न सके अझ प्रगति गर्न सकिन्छ ।’

फुटबलको विकासमा क्रियाशील संस्था फिदिम स्पोर्टिङ क्लबले २०६५ देखि निरन्तर सञ्चालन गर्दै आएको फाल्गुनन्द गोल्डकपलाई फिदिम नगरपालिकाले प्रवद्र्धकको रूपमा रही केही आर्थिक रकम सहयोग गर्दै आए पनि अन्य स्थानीय तहले फुटबल विकासका लागि उल्लेख्य लगानी गरेको देखिँदैन ।

अहिले ८–१२ वर्ष उमेर समूहका २३० जनालाई हरेक शनिबार प्रशिक्षण गराइरहेको एन्फा अध्यक्ष नेम्बाङले बताए ।

यो कार्यक्रमलाई गाउँ–गाउँमा लाने योजना रहेको उनको भनाइ छ ।  गाउँ–गाउँमा भइरहेका प्रतियोगितालाई निरन्तरता दिन भने चुनौती रहेको जिल्लाका खेलकुद पत्रकार उपेन्द्र येक्तेन बताउँछन् । दीगो स्रोतको अभाव यसको प्रमुख समस्या रहेको उनले बताए ।

यसका लागि कम्तीमा एक स्थानीय तहमा एक प्रतियोगिता गर्ने गरी स्थानीय तहसँग समेत समन्वय गरेर स्थानीय क्लवहरू बढे राम्रो ह’ने येक्तेन बताउँछन् ।

गोल्डकप भनेरै सञ्चालन भइरहेका प्रतियोगिताको स्तरीयतामा समेत ध्यान पुर्याउनुपर्ने फुटबल समीक्षक सगुन सुसारा बताउँछन् ।

उनले भने– ‘अहिले जिल्लामा फुटबलको जुन क्रेज छ, त्यो राम्रो छ, अब यसलाई अझ स्तरीय र परिणाम दिने किसिमको बनाएर लान सरोकारवालाहरूको जिम्मेवारी हो ।’
जिल्लाकै सर्वाधिक लोकप्रिय फाल्गुनन्द गोल्डकप पुष २१ देखि  यसैबीच १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सम्मान र सम्झनामा आयोजना गरिँदै आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करण पुष २१ देखि हुने भएको छ ।

सदरमुकाम फिदिमम हुने प्रतियोगितामा नेपालका दश ‘ए’ डिभिजन क्लबहरूको सहभागिता रहने आयोजक जिल्ला फुटबल सङ्घ पाँचथर र फिदिम स्पोर्टिङ क्लबले बुधबार पत्रकार सम्मेलन गरी जनाएका छन् ।

पुष ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले नगद दुई लाख र उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष सुजन नेम्बाङले बताए । प्रतियोगिताको मुख्य प्रायोजन रुस्लानले गरेको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले बताए ।

प्रतियोगिता सम्पन्न गर्न यसपटक ५२ लाख ७२ हजार ५८० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।