सीकाई विनाको पढाई, पढाई विनाको सीकाई

alt
  • मंसिर १५, २०७५
  • ३७५ पटक पढिएको
  • राजेन्द्रप्रसाद पन्त

ताप्लेजुङ हेलिप्याड बस्ने ओङमु शेर्पा विद्यालयबाट फर्कने क्रममा गुन-गुनाउदै आईन “मन विनाको धन ठुलो की धन विनाको मन ठुलो” र आफ्नो आमालाई सोध्न पुगिन् के ठुलो ? वि.राज नेपालले लेखेको उक्त गित साह्रै लोकप्रिय छ आजकल ।

ओङमु शेर्पाकी आमाले छोरीको जिज्ञासामा यती मात्र भनिन्, खै छोरी के ठुलो भन्नु । थाहा नै भएन । भोली तिम्रो टिचरलाई नै सोध्नु नि ! छोरीले जिद्धी गरिन् भन्नु न भन्नु तपाइको विचारमा के ठुलो ? बाल मनोहटको अगाडी भगवान त बिवस हुन्छ भने आमाको के कुरा ।

आमा फुलमायाले छोरी ओङमुको जिज्ञासामा भनिन् मलाई त ‘धन विनाको मन’ नै ठुलो लाग्यो । ए तेसो भए मेरो स्कुल फि कसरी तिर्ने धन नभए त ? अवोध झै लाग्ने बालिकाको गहन ठम्याई थियो त्यो ।

ओङमु र फुलमाया बीचको सम्वादको अशंले दिन खोजेको सन्देश र त्यो भित्र लुकेका तमाम प्रश्नहरुको समाधान गर्नसके आजको विद्यालय शिक्षाले सहि मानेमा सीकाईलाई व्यवहारीकता प्रदान गर्न सहयोग गथ्र्यो की ?

आम नागरिकको पहुचमा कस्ता-कस्ता विद्यालयहरुछन् ? ति विद्यालयहरुको भौतिक र शैक्षिक पक्ष कस्तो रहेको छ ? आम नागरिकका अभिलासा ति विद्यालयले पुरा गर्न सकेका छन् की छैनन् ? राज्य पक्षको अत्यधिक लगानीरहेका सामुदायिक विद्यालय र निजी क्षेत्रको लगानीमा सञ्चालित निजी विद्यालयले प्रदान गर्दै आएको शिक्षाका आफ्नै विशेषता छन् ।

पछिल्लो दुई दशकको समयलाई फर्केर हेर्ने हो भने आफ्ना सन्ततीको शिक्षाका लागि नीजि विद्यालय प्रतिको रुची उकालो लाग्दो छ । त अर्को तिर सामुदायिक विद्यालय प्रतिको विश्वास ओरालो तर्फ लम्केको लम्के छ ।

भौतिक पुर्वाधारले सम्पन्न निजी विद्यालयमा आफ्ना नातागोता, सन्तती भर्ना गर्नमै सामाजिक प्रतिष्ठा बढेको ठान्ने अभिभावकको कमी छैन । खोले सिस्नो खाएर पनि आफ्ना नानीलाई बासको कटेरो भित्र पश्चिमी संस्कृतीले पहिरनको एउटा हिस्सा मानेको टाई झुण्ड्याउने विद्यालय भलेहि टाईले नाकमा सुलुलु आएको सिगान पुछ्ने गरे पनि त्यसैमा मख्ख पर्ने अभिभावकको कमी छैन, हाम्रो समाजमा ।

अर्को थरी अभिभावकको निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने अभिलासा अझै पनि वि.राज नेपालले लेखेको गित ‘धनविनाको मन’ जस्तै भएको छ । यसको विपरित एक थरी मानिस सामुदायिक विद्यालयलाई नै गुणस्तरको सानको रुपमा विकास गर्नुपर्छ भनेर लागि परेका छन् ।

तर यो जमात एकदम सानो घेरामा समेटिएको छ । यो घेरामा रहेका नागरिक निजी विद्यालयलाई वि.राज नेपालकै गित ‘मन विनाको धनुसँग तुलना गर्दै ब्यङग्य गर्न पुग्छन् । उनको आरोप छ ति विद्यालय त ‘मन विनाको धन’ जनशक्ति उत्पादन गर्ने कारखाना हुन । जहा मानविय मुल्य मान्यता प्राय मरेतुल्य सरह छ ।

शिक्षा आधारभुत आवश्यकता हो । मौलिक अधिकार हो । यो अधिकार बाट बञ्चित गराउनु समेत संविधानको उलङघन हो । जसका लागि सरकारले यथेष्ट लगानी गर्दै आएको छ । नीजि विद्यालयको लगानी समुहगत वा व्यक्तिगत भएकाले एक छिन यसलाई थाती राख्दै सरकारको विद्यालय शिक्षा एवम् समग्र शिक्षाको लगानी हेर्ने हो भने लगानी अनुरुपको प्रतिफलले उत्साहित हुने अवस्था कदापी छैन ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा पनि परेकै छ यो आधारभुत आवश्यकता । तर पनि शिक्षाको गुणस्तरमा वस्तुगत परिणामले किन्चीत पनि सन्तुष्ट हुने ठाउ नभएको अवस्था जानकार नै छ ।

आम चासो र बहसमा अग्रपंतिमा आउने शब्द हो गुणस्तर । हरेक ठाउमा यसले स्थान पाएकै छ । शिक्षा क्षेत्रमा त गुणस्तरको प्रयोग र आवश्यकता तरकारीमा नुन जतिकै छ । गुणस्तर मापन आफैमा जटिल विषय पनि हो ।

बुढानिलकण्ठको गुणस्तरलाई ओलाङचुङगोलाको गुणस्तरसँग दाज्नु न्यायोचित हुनैसक्दैन । दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयको गुणस्तरलाई ताप्लेजुङको सिनाम मावीसँग पनि दाज्न मिल्दैन ।

यसो भनिरहदा शिक्षाको स्तरलाई तुलना नै नगर्ने त ? तुलना गर्दै नगर्ने भन्ने चाहि होईन । तर तुलना गर्ने मापन गर्ने आफ्नै विगत संग हो । विगतको भन्दा आजको शिक्षलाई सुधार गर्ने मापदण्ड तयार पारी सो का आधारमा गुणस्तरलाई मापन गर्ने हो । शुरुआतमै उत्कष्ठ भनिएका विद्यालयसँग तुलना गरी शतप्रतिशत सोहीअनुरुपको गुणस्तरीय सुधारको योजना बनाउने हो भने त्यो सफल हुने सम्भावना न्युन रहन्छ ।

योजना सफल पार्न आ-आफ्नो धरातलिय वास्तविकता, सम्भावना र उपलब्ध श्रोत परिचालनको आकलन गरी विद्यालय शिक्षालाई प्रत्येक वर्ष विगत भन्दा राम्रो बनाउने मापदण्ड सहित धरातलिय योजना बनाउन सक्नु गुणस्तर सुधारको पहिलो खुट्किला हो ।

विद्यालय स्तरिय शिक्षाको गुणस्तरलाई सुधार गर्न साथै ओरालो लाग्दै गरेको विद्यार्थी संख्यालाई न्युनिकरण गरी निजी विद्यालयसँग प्रतिस्पर्धामा उतार्न निजी र सामुदायिक विद्यालयमा पठनपाठनको भाषामा एकरुपता ल्याउन जरुरी छ ।

मातृभाषामा दिइने प्रारम्भीक शिक्षाले सीकाईलाई दिगो पार्छ भन्नेमा बिमती नभए पनि त्यो विद्धताको नाममा सामुदायिक विद्यालयमा मात्र थोपार्नु निजी विद्यालयका विद्यार्थीहरुको मातृभाषाको अधिकार बञ्चित गराउनु हो ।

अतः भाषा विज्ञहरुको सिफारिस खास खास अवस्था वा ठाउ भन्दा पनि समग्र रुपले सबै ठाउमा लागु गर्नु जरुरी छ । गुणस्तर मापन गर्न सक्ने खालको कार्ययोजना र भाषा एकरुपता पश्चात गुणस्तर सुधारका लागि तेस्रो पक्ष हो, कक्षकोठामा सीकाईको वातावरण निर्माण गर्न सक्नु ।

सिक्ने प्रकृयामा सिकारु (विद्यार्थी) र सिकाउने (शिक्षक) को नै अहम भुमिका हून्छ । सिक्ने सिकाने प्रकृयामा सिकारुको सहभागितामाथी सिकाउनेको सहभागिता हावी भएमा सिकारुको मनोबल खस्कदै जाने तर्फ ध्यान दिनु जरुरी छ ।

समग्र विद्यालयको परिवेसमा सिकाउने नै हावी भएको पाईन्छ । सिकाउने हाबी भएको परिवेसमा सिकारुले के सिक्ने ? त्यसमा पनि सिकेको सुनिश्चतता को वैज्ञानिक आधार अझै प्रष्ट छैन । सिकाउनेले आफ्नो परिवेशलाई वा आफ्नो सोच अनुरुप व्याख्यान त गरेको पाइन्छ, हरेक कक्षाकोठामा ।

सिकाउनेको उच्च व्याख्यान विधी सहजै देख्न पनि सकिन्छ । यो अनुभव गरेकै पनि छ । तर त्यहा सिकारुको मनोदसाको अध्ययन भएको कमै पाईन्छ । प्राय हरेक विद्यालयमा सिकाउनेको प्रवचन हावी छ ।

सिकाउने सर्बज्ञानीले सिकारुलाई अत्यन्तै अल्पज्ञानी मानेको पाईन्छ । सिकारुलाई अल्पज्ञानी माने पछि त सिकाउनेले आफ्नो कुरा अल्पज्ञानीलाई थोपार्ने नै भयो । तर त्यो अल्पज्ञानीलाई दिएको ज्ञानले कतिको ज्ञानी बनायो त ? त्यो हेक्कासम्म राख्न सकेको छैन सर्बज्ञानीहरुले ।

अधिकांस विद्यालयहरुमा यस्तै शिक्षण प्रकृया  हाबी भएको सन्दर्भमा सिकारुले निर्दिष्ट मापदण्ड अनुरुपको सक्षमता प्राप्त गर्न सक्ला त ? पाठ्यक्रममा उद्देश्य प्राप्त गर्नुलाई सक्षमता भनि नामाकरण गरिएको छ ।

जुन आफैमा सराहनिय छ । तर त्यो एउटा पुस्तकमा मात्र राखेर मात्रै होला त ? कक्षा कोठामा उपस्थित भएका सिकारुलाई सक्षम बनाउने जिम्मा कस्को हो त ? समस्या यही आएर बर्षौ देखि अड्किएको अड्किएकै छ ।

समस्याको सोझो र सरल समाधान हो कक्षा कोठामा पढाई होईन सिकाई हुनु पर्छ । सिकारु माथी सिकाउने हाबी हुनुको साटो सिकारुको सहभागीता बढाउनु पर्छ । सिकाउनेको सहभागिता न्युनिकरण गर्दै सिकारुको सहभागीता बढाउदै लाने हो भने पाठ्यक्रमले निदृष्ट गरेको् सक्षमता प्राप्त गर्न फलामको चिउरा चपाउनु जस्तो पनि होईन ।

त्यसका लागि कक्षा कोठामा पढाउने की सिकाउने ? यो विकल्प मध्ये यदि साच्चिकै सिकाउने तरिकालाई प्राथमिकता दिने हो भने पाठ्यक्रमले नृदिष्ट गरेको प्रत्यक तहको सक्षमता प्राप्त गर्न फलामको चिउरा चामलको चिउरामा परिवर्तन हुनेमा विमती नरहला ।

हरेक बालवालिकाका फरक फरक क्षमता हुन्छन् । सबैले भन्ने गरेको घिसेपिटेको वाक्य हो यो । यो घिसेपिटेको वाक्यले फरक फरक क्षमतालाई सम्बोधन गर्न नै सकेन । पढाई र सिकाई बिचको अन्तरलाई सम्बोधन गर्न नै सकेनौँ ।

यो नै सबै भन्दा दुर्भाग्यपुर्ण रह्यो सिक्ने र सिकाउने प्रकृयामा । एउटा सामान्य उदाहरण लिऔँ । ‘सियो र धागो’ भन्ने पाठ तोकिएको छ कुनै पाठ्यपुस्तमा भने, पहिलो कुरा: सियो र धागोको पहुच कक्षा कोठामा नै छ की छैन त्यसको सुनिश्चीतता हुनुपर्यो ।

शिक्षकले पाठ सामाग्रीसँगै तिनवटा कुरा सहजै अवलोकन गर्न सक्छ । सियो धागोको बारेमा भन्नै गर्दा एक थरी विद्यार्थी शिक्षकको भनाईमा केन्द्रित हुन्छन् । अर्को थरि विद्यार्थी सियो धागोलाई हेर्नमा बढी केन्द्रित भएको पाइन्छ, भने तेस्रो थरी विद्यार्थीहरु धागोलाई सियो को मसिनो प्वालमा छिराउन शुरु गरिसकेको पाईन्छ ।

यसरी सरसरती हे्र्दा पहिलो थरी विद्यार्थी सुनेर सिक्ने, अर्को थरी हेरेर वा देखेर सिक्ने त अर्को थरी आफै गरेर सिक्ने खालका हुन्छन् । यि अलग-अलग तरिकाले सिक्ने खालका विद्यार्थीलाई एकैचोटी सिकाउन सक्नु शिक्षकका लागि चुनौतिपुर्ण काम हो ।

यो चुनौेतिलाई पुरा गर्नसक्नु शिक्षकको महत्वपुर्ण जिम्बेवारी हो । त्यो नै कुशल शिक्षक पनि हो । जिम्मेवारी पुर्ण गर्नसक्ने कुशल शिक्षकको छनौट हुन नसके सक्षमताको नाराले मुर्तरुप पाउने कुरै भएन ।

क्षमता अलग अलग छ, सिक्ने तरिका अलग अलग छन् । यो परिवेशमा शिक्षकले सबैलाई सम्बोधन हुने सिकाईका तरिकाहरु अवलम्बन गर्न सके सिकाईलेनै सार्थक रुप पाउनेहो । शिक्षण गर्ने र सिकाउने कङक्रिट तरिका ठ्याम्मै यही हो भन्न त नसकिएला तर तह हेरेर सिकारुको सिक्ने तरिकाको पुर्वानुमान लगाएर वा प्रयोगात्मक परिक्षणद्धारा सिकारुको सिक्ने तरिका थाहा पाएर सेमि कंक्रिट शिक्षण सिकाई मात्रै लागु गर्न सके सिकारुको सिकाई कंक्रिट हुनेमा दूईमत रहदैन ।

अगाडीकै सन्दर्भलाई जोडौँ । धागो र सियोको बारेमा पुस्तकमा लेखेको भन्दै जानु सिकाई विनाको पढाई हो भने सियो के बाट बनेको हुन्छ ? सियो टुप्पो किन तिखारीएको हो ? सियोको फेदमा भएको मसिनो प्वालले के काम गर्छ ? सियो किन कडा र धागो किन नरम ? सियोको प्वाल भित्र धागो छिराएमा सियोले कसरी सिउछ भन्ने तमाम जिज्ञासाहरुको प्रयोगात्मक अभ्यास नै सिकाई सहितको पढाई हो ।

सिकाई बिनाको पढाई त अशोक दर्जीद्धारा स्वरवद्ध गित ‘मन विनाको धन’ जस्तै हो । कक्षा कोठामा होस् वा बाहिर बाल-बालिकाहरुले पुस्तक नै नपढेपनि कुनै न कुनै कामबाट केही न केही सिकेकै हुन्छ जुन पढाईविनाको सिकाई हो ।

बालबालिकाको अन्तरनिहित प्रतिभालाई फन्टलाईनमा ल्याउनु छ भने सिकाउने पक्षको समयावधी घटाउदै सिकारुलाई अधिकतम प्रयोगको वातावरण निर्माण गर्नु नै सिकाई विनाको पढाईलाई निरुत्साहित गरी सिकाई सहितको पढाईलाई मुर्तरुप दिनु हो ।

यसो गर्न सके वि.राज नेपालद्धारा रचित गित ‘मन विनाको धन’ उत्पादन गर्ने कारखाना निरुत्साहित हुदै गई मन भएका धनिवान प्रतिभा उत्पादन भई ओङमु शेर्पा जस्ता तमाम बालबालिकाको जिज्ञासाले मुर्तरुप पाउने तर्फ सबै निकाय गम्भिर भएमा सबैको भलो होला ।

(लेखक हिमालयन टूष्ट युके,रिड नेपाल नामक गैर सरकारी सस्थामा शिक्षा क्षेत्र हेर्ने “प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ ।)

उदयपुरमा पिक्निक गए ...

उदयपुर / उदयपुरको चिम्चुङ्बुङमा पिक्नीक खाएर फर्कन ...

अपराधमा वारीपारीकाे ...

दमक /  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी त ...

अक्षयकोष स्थापना ...

तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत ...

दुर्घटनामा ३ दिनकी स ...

पाल्पा / सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका&nda ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved