बुनस एयर। चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् । 

चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको बताइएको छ । 

विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका साथै यी देशको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने धारणा उनिहरुको छ । 
शुक्रबार बुनस एयरमा भएको त्रिपक्षीय तथा संयुक्त भेटका क्रममा सो सहमति भएको प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच शुक्रबार साँझ अनौपचारिक भेट र वार्ता भएको हो । 

सो भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले चीन, रुस र भारत एक आपसका महत्वपूर्ण तथा रणनैतिक साझेदार राष्ट्र भएकोले पनि एक आपसमा मिलेर सहयोग र समन्वयका कार्यक्रम बनाउनुपर्ने धारणा राखे । 
राष्ट्रपति सिले तीन देशको साझा चासो र एकै खाले विकास लक्ष्यका साथ अघि बढ्न सकेमा क्षेत्रीयरुपमा मात्र नभएर विश्वकै विकास र स्थायित्वमा पनि ठूलो सघाउ पुग्ने बताए । 

गएका दश वर्षमा तीन वटै देशले सक्रिय, द्धिपक्षीय तथा त्रिपक्षीयरुपमा वार्ता गर्दै आएको, निकै खुलारुपमा भएका ती वार्ता तीन देशबीच खुलापनको प्रवर्धन, आपसी एकताकासाथै समझदारी निर्माण र आपसी विश्वासमा आधारित आयोजनाको निर्माण गर्न सघाउ पुगेको उनले बताए । 

अहिले क्षेत्रीय, विश्वव्यापिरुपमा पनि एक किसिमले भन्ने हो भने विभिन्न खालका र नयाँ–नयाँ चुनौतीको विकास भइरहेकोले यस्ता समस्या समाधान सामूहिकरुपमा खोज्नका लागि पनि त्रिपक्षीय वार्तालाई अघि बढाउन आवश्यक रहेको पनि राष्ट्रपति सिले बताए । 

उनले तीन देशले आगामी दिनका लागि नयाँ खालको सम्बन्ध विस्तार गरी आपसी राजनीतिक विश्वासका साथ अघि बढ्न सके यस क्षेत्रमा र विश्वमा समेत देखिएका यस्ता नयाँ–नयाँ समस्याको समाधानका लागि सहयोग पुग्ने धारणा सो त्रिपक्षीय भेटका अवसरमा राखेको बताए । 

राष्टपति सिले समूह २०, जी–२० का साथै ब्रिक्स र साङघाई कोअपरेसन अर्गनाइजेसनसमेत गरी तीन देशले एक अन्तरराष्ट्रिय त्रिपक्षीय साझा संयन्त्रको विकास गरी अघि बढ्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।