राससरएपी: फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाक्नु भएको छ ।

फ्रान्सको राजधानीमा भएको प्रदर्शनका क्रममा एक सयभन्दा बढी मानिस घाइते भएका छन् भने चार सयभन्दा बढीलाई पक्राउ गरिएको छ । प्रदर्शनकारीले दर्जनौं कारमा आगजनी गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याँक्रोले अर्जेन्टिनामा आयोजित औद्योगिक समूह जी–२० को बैठकबाट फर्केलगत्तै आइतबार प्रधानमन्त्री फिलिपसहित सुरक्षासम्बन्धी आपतकालीन बैठक गर्नुभएको छ । सरकारले आपतकालीन स्थितिको घोषणा गर्ने सम्भावना समेत रहेको बताइएको छ ।

पेरिसमा जारी मजदूरहरुको प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ । इन्धनको मूल्यवृद्धि गरेसँगै गत महिनादेखि विरोध प्रदर्शन हुन थालेको हो । आमजनताका समस्याप्रति राष्ट्रपति म्याँक्रोले संवेदनशीलता नदेखाएको प्रदर्शनकारीको आरोप छ ।

पहेंलो रङ्गधारी लुगा लगाएका प्रदर्शनकारीले कारमा आगो लगाउनुका साथै उनीहरुले कारका ढोका फोडेका, पसलहरु लुटपाट गरेका र प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रुग्यास र पानीको फोहरा हान्नुका साथै दर्जनौं सडक र मेट्रो स्टेशन बन्द गरेको थियो ।

हिंसात्मक प्रदर्शन सोमबार अझ बढेको थियो । एम्बुलेन्सका कामदार पनि सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले सडकमा ठाउँ-ठाउँमा टायर बालेका र ट्राफिक अबरुद्ध गरेका छन् ।