ताप्लेजुङ/प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा करिब ५० लाख सङ्कलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको थियो तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईले जानकारी दिए । यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ ।

मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साँचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् । वार्षिक स्वदेशी तथा विदेशी गरी दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका छन् ।

वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटी सङ्कलन हुँदै आएको छ । पहिलो पटक सीसी क्यामेराको निगरानीमा भेटी गन्न शुरु भएको हो । मन्दिरमा सङ्कलित रकम सदरमुकाम फुङलिङमा ल्याएर गणना गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन भेटी व्यवस्थापन समितिको संयोजक भएपछि समन्वयको कार्यालयमा पैसा सारिएको थियो ।

यस अघिसम्म पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको कार्यालयमा राखिँदै आएको थियो । भेटी १३ जनाको समूहले गणना शुरु गरेका छन् । गणनामा पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी सम्मिलित थिए ।

पहिलो चरणमा एक हजार, पाँच सय र भारु पैसा छुट्याएको थियो । भारु पैसा रङ लागे वा पानीले भिजेको भए सटहीमा समस्या हुने भएकाले पहिला छुट्याइएको थियो । नेपाली पैसा पनि रङ नलगाउन, केरमेट नगर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

ठूला नोट छुट्याएपछि २०, १० र ५ का नोट मिलाइएको गणकहरूको भनाइ छ । तीर्थयात्रीले स्टिच पिन लगाएर पैसाको माला बनाएर पनि चढाएका छन् । कतिपयले हजार–हजार र पाँच सय रुपैयाँको एक मुष्ट पैसा चढाएको पाइएको छ ।

सबैभन्दा बढी एकै जनाले ९ हजार ५ सय रुपैयाँ रबरले बाँधेर चढाएको भेटिएको थियो । साना पैसाको मुठा धेरै भेटिएको थियो । पाथीभरामा वर्षेनी लाखौँ पर्यटक आउने गर्दछन् । यहाँको दर्शनको लागि नेपालबाहिरबाट पनि उल्लेख्य मात्रामा दर्शनार्थी आउने गर्दछन् ।

पाँचथर, इलाम, झापा, धरान, विराटनगर, काठमाडौं, पोखरा, कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट सवारी साधन रिर्जभ गरेर पनि आउने गरेका छन् । साथै नेपालबाहिर भारत, भुटान, हङकङ सिंहापुरबाट समेत दर्शनका लागि तीर्थयात्री आउने गर्दछन् ।

पाथीभरा घुम्नै पर्ने एक सय गन्तव्यको सूचीमा समेत परेको छ ।