दमक/ दमक नगरपालिका वडा नं–९ का वडाध्यक्ष रामबहादुर धिमालले कम्प्युटर कहिल्यै छोएका थिएनन् । कम्युटर नजान्दा उनले आफूलाई निरक्षर महसुस गरिरहेका थिए । त्यसैले उनी कम्प्युटर प्रशिक्षण लिन कम्मर कसेर लागेक छन् ।

‘मैले जीवनमा नै त्यो कम्प्युटर भन्ने यन्त्र छोएको थिएन आज पहिलो पटक चलाएको हो ।’ वडाध्यक्ष धिमाल भन्छन्– ‘एक प्रकारले कम्प्युटर नचलाउँदा निरक्षर भएजस्तै भएको थियो, जहाँ जे कुरा पनि कम्प्युटरमा छ, मेलमा छ भन्ने विषय आउँछन्, आफूलाई केही नआएपछि यो सबै कुरामा पछि परिँदो रहेछ भनेर कम्प्युटर शिक्षा लिन आवश्यक ठानेँ ।’

आइतबार बिहानै ६ बजे झापाको दमकस्थित सीएससीआई एजुकेशन फाउण्डेशनको कम्प्युटर कक्षामा किबोर्डमा अप्ठ्यारो गरी औंला चलाइरहेका धिमाल नेपाली अक्षर लेखिएको किबोर्डमा कुन अक्षर कता छ भन्ने नियालेर खोजिरहेका थिए ।

उनीमात्र होइन वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपानेले पनि पहिलो पटक कम्प्युटर चलाउँदाको अनुभव सुनाए । ६४ वर्षको उमेरमा पहिलो पटक कम्प्युरट सिक्न जाँदैगर्दा आफूलाई नयाँ अनुभव भएको उनले बताए । २०२४ सालमा स्कुलको पढाइ सकेर औपचारिक शिक्षालाई बन्द गरेका न्यौपाने ५० वर्षपछि पुनः कम्प्युटर सिक्न जाँदा अत्यन्तै उत्साहित भएको बताउँछन् ।

उनीजस्तै दमक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पशुपतिराज गौतम पनि ६५ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर चलाएको बताउँछन् ।

चस्मा लगाएकाले किबोर्डका अक्षर राम्रो देखिए अलि मिहिनेत गर्दा चाँडै सिक्न सकिने उनको अनुभव छ । ‘हामीलाई ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको मात्र कक्षा थियो तर चलाउँदा–चलाउँदै खुशीले साढे सातसम्म कक्षामा बसिएछ ।’ वडाध्यक्ष गौतमले भने– ‘पहिला पनि जनप्रनिनिधि भइयो त्यो बेला राज्यले विद्युतीय कारोबार र माध्यमलाई त्यति प्राथमिकतामा राखिएको थिएन, त्यसो भएकाले सिक्न आवश्यक परेन, अहिले राज्यले नै कानून बनाएर सबै सरकारी कार्यालय पेपरलेस बनाउने योजनामा अघि बढेकाले हामीलाई पनि सिक्न उत्साह बढेको छ ।’

कम्तिमा वडाध्यक्षहरूले आफ्नो कार्यालयमा कम्प्युटरबाट मेल पठाउन सक्नु पर्छ भन्ने मान्यताले सिक्न आएको गौतमले बताए । उनीजस्तै दमक नगरपालिका छिमेकी कमल गाउपालिकाका र चुलाचुली गाउँपालिकाका गरी २३ जना वडाध्यक्षहरू अहिले कम्प्युटर सिक्न व्यस्त छन् ।

नेपाल सरकारले मन्त्रीपरिषद्को बैठक पेपरलेस बनाएको छ । यसपछि सबै मन्त्रीहरूले कम्प्युटर चलाइरहेका छन् । मन्त्रीपरिषद्को बैठक पेपरलेस बनाइरहँदा स्थानीय तहका जनप्रतिनधि पनि अहिले कम्प्युटर शिक्षा लिन थालेका हुन् । प्रविधिको बदलिँदो विकाससँगै झापाका दुई स्थानीय तह र इलामको एक स्थानीय तहका वडाध्यक्षहरू एकाबिहानै कम्प्युटर कक्षा लिन जान थालेका छन् ।

पदीय जिम्मेवारी ठूलो छ । तर प्राविधिक ज्ञानको अभावमा कार्यक्षमतामा नै प्रश्न उठ्ने भएकाले पनि यहाँ जनप्रनितिनधीसँगै चुलाचुली गाउँपालिकाका स्रोतव्यक्तिसमेत कम्प्युटर शिक्षा लिन थालेको बताउँछन् ।

दमकमा रहेको सीएससीआई एजुकेशन फाउण्डेशनले २३ जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक र स्रोतव्यक्तिसहित ३१ जना गरी ४८ जनालाई निशुल्क कम्प्युटर शिक्षा उपलब्ध गराएको हो । राज्यले हरेक सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउने भनेर घोषणा गरेको छ ।

तर राज्यको नीति निर्माण गर्ने पदमा पुगेका जनप्रतिनिधिमा भने प्राविधिक ज्ञानको अभाव रहेकाले वडाध्यक्षलाई निशुल्क कम्प्युटर शिक्षा उपलब्ध गराएको सीएससीआई एजुकेशन फाउण्डेसनका प्रोप्राइटर राजु गौतमले बताए ।