राजविराज /  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले विवाद न्यूनीकरणका लागि कानूनको पालना गर्नुपर्ने बताए । निर्वाचन आयोगले सप्तरीको राजविराजमा आज आयोजना गरेको निर्वाचन विवाद निरुपण कार्यविधि तर्जुमा परामर्श कार्यशाला गोष्ठीसम्बन्धी कार्यक्रममा प्रमुख आयुक्त यादवले मतदानका बेला मतदान केन्द्रमा मतगणना नगरेका कारण पनि विवाद बढेको भन्दै अबको निर्वाचनमा मतदान केन्द्रमै मतगणना गरेमा कुनै पनि विवाद नहुने जिकिर गरे । 

उनले मुलुकको धेरै स्थानीय तहमा वडा अध्यक्षको पद खाली रहेको जानकारी दिँदै रिक्त रहेको वडा अध्यक्षको पदबारे सरकार मौन रहेको आरोप लगाए । धेरै ठाउँमा रिक्त रहेको वडा अध्यक्षको पदपूर्ति गर्ने सवालमा सरकारलाई जानकारी गराए पनि चासो नलिएको उनले बताए । 
गत वर्षको निर्वाचनपछि मुलुकभरमा खाली रहेको वडाध्यक्षको पदबारे सरकारले ध्यान दिन जरुरी बताउँदै मुलुकभरमा करीब १४६ मुद्दा परेको र यीमध्ये ११५ वटा मुद्दा वडा अध्यक्षकै रहेको र हालसम्म मुद्दाको निक्र्याैल हुन नसकेको बताए । 
वडाध्यक्षको स्थानीय तहमा भूमिका अनुसार रिक्त रहेको वडाध्यक्षको पदपूर्ति गर्नका लागि निर्वाचन हुन जरुरी रहेको बताउँदै यसप्रति नेपाल सरकारले ध्यान नदिएको उनलेसमेत आरोप लगाए । उनले सप्तरी जिल्लामा गत वर्ष सम्पन्न निर्वाचनमा शान्तिपूर्वक र विवादरहित निर्वाचन सम्पन्न गराएको भन्दै स्थानीय सुरक्षाकर्मी प्रहरी प्रशासन जिल्लाको मुख्य निर्वाचन अधिकृतलगायत जिल्लावासीलाई धन्यवाद व्यक्त गरे ।