भद्रपुर/विमानस्थल स्तरोन्नतिका लागि करिब १२ बिघा जमिन रोक्का गरेको एक वर्ष पुग्न लाग्दा पनि मुआब्जा मूल्याङ्कन अन्यौल बनेको छ ।

झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि ६२ जनाबाट अधिग्रहण गरिएको जग्गालाई सरकारी निकाय तथा एयरपोर्टको ढिलासुस्तीले जग्गाधनी मारमा पारेका हुन् । उनीहरूले मु–आब्जा नदिने हो भने तत्काल फुकुवा गर्न माग गरेका छन् ।

भद्रपुर–८ र ९ अधिग्रहण गरिएको जग्गाको स्रेस्ता भद्रपुर–१० मा पर्छ । विमानस्थलको स्तरोन्नतिका लागि २०७३ मङ्सिर ८ गते मन्त्रिस्तरीय निर्णयले स्थायी रूपमा जग्गा प्राप्तिका लागि उक्त क्षेत्र निर्णय गरेको थियो ।

धावनमार्गको पूर्वमा विमानस्थलको उत्तर र दक्षिणमा भएको तारवार तथा पूर्वमा भद्रपुर–धुलाबारी सडकबीचको जग्गा, जग्गामा निर्माण भएका घरटहरा तथा अन्य संरचनाहरू समेत स्थायी रूपले प्राप्त गर्नुपर्ने भएकाले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम सो क्षेत्रभित्र पर्ने सम्बन्धित जग्गाधनीले मु–आब्जा दाबी गर्न ०७४ माघ १२ गते ३५ दिने जग्गा प्राप्तिसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनामा सबुत प्रमाणसहित रितपूर्वको निवेदन चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा पेश गर्न जानकारी गराइएको थियो ।

अतिक्रमण गरिने जग्गामा ६० जना जग्गाधनीको नामसहित र दुइकित्तामा श्रेस्ता फेला नपरेको उल्लेख छ । प्रकाशित सूचनामा जम्मा क्षेत्रफल मध्ये एयरपोर्टले लिने ११ विगाहा ८ का साढे १६ धुर उल्लेख गरिएको छ । सो क्षेत्रमा कृष्णदेवी कानू, मदन राई, कुमारी स्वर्णिका, कल्पना राई र गङ्गादेवी न्यौपानेको घर रहेका छन् भने अन्य जग्गा खाली रहेको छ ।

सूचना जारी गरेसँगै जग्गाधनीले सम्पूर्ण प्रक्रिया पूरा गरे पनि हालसम्म एयरपोर्टले मुल्याङ्कनबारे आधिकारिक जानकारी नगराएको सोनु कानूले बताए । निर्माण गर्दै गरेको घरसमेत रोके पनि हालसम्म अन्यौल रहेको जग्गाधनी कुमारी स्वर्णिकाले बताइन् ।

चलनचल्ति तथा चित्त बुझ्दो मूल्याङ्कन नआएमा जग्गा नछाड्ने उनले बताइन् । जग्गाको विषयमा ठोस निर्णय भई नसकेको वडा नम्बर ८ का अध्यक्ष गौरब सुब्बाले बताए । असोजयता मूल्याङ्कन समितिको बैठक नबसेकाले जग्गाधनीलाई लिएर झापाका प्रमुख जिल्ला अधिकारीकोमा जाने उनले बताए ।

जग्गा रोक्काको विषयमा अन्यौल रहेको वडा नम्बर ९ का अध्यक्ष शनिलाल राजवंशीले बताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बस्नुपर्ने भए पनि के कारण हो हालसम्म बैठक बस्न नसकेको बताए ।

एक हप्ताभित्र जग्गाको मूल्याङ्कन सार्वजानिक गरिने नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख पूर्ण चुडालले बताए ।

जग्गाको मूल्याङ्कन गरेर दुई महिनाअघि मूल्याङ्कन निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई प्रतिवेदन बुझाइ सकिएको मूल्याङ्कन निर्धारण समितिका उपसंयोजक तथा भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए ।

जग्गा प्राप्तिको प्रक्रिया लामो हुने भएकाले केही ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।