विराटनगर/ एकीकृत जाँच चौकी (आईसिपी)को परीक्षण सञ्चालन सुरु भएको छ । भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका टूक र पेट्राेलियम पदार्थका ट्याङ्कीलाई आइसिपीको बाटो प्रयोग गर्न दिने परिपत्र गरेसँगै आईसिपी सञ्चालनमा आएको हो ।

परीक्षणका क्रममा बुधबार साँझ ७ देखि ८ बजेसम्म एक घण्टाको लागि विराटनगरको बुधनगरस्थित बन्दै गरेको आईसिपीको बाटो हुँदै भारतर्फ ट्रक र इन्धन बोक्ने ट्याङ्कगर गएको विराटनगर भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । ‘अहिले परीक्षणको लागि दैनिक १ घण्टा नेपालबाट खाली गरिएको ट्रक र ट्याङ्कर मात्र भारतर्फ जान मिल्ने परिपत्र आएको छ,’ उनले भने, ‘साझ १ घण्टा र विहान एक घण्टा भित्रमा गाडीहरु आइसीपीको बाटो हुँदै भारतर्फ जानेछ ।’ उनका अनुसार अहिले परिक्षण काल भएकोले ठक्याकै एक घण्टामा कति वटा ट्रक र ट्याङकर भारत जान्छ त्यो भने अहिले नै अनुमागन गर्न नसकिने बताए ।

नेपालबाट दैनिक फर्कने खालि ट्रकको सङ्ख्या २ सय र ट्याङ्करे ८० वटा हुने गर्दछन् । ट्रान्स नेपालका प्रबन्धक गणेश घिमिरेका अनुसार खालि गरिएका ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कने छन् । जसका कारण जामको समस्या केहि रुपमा हल हुनेछ ।

नेपालमा खालि भई फर्कने कन्टेनर बोेकेका लरी र ग्यासका बुलेट पनि आइसिपीको बाटो हुँदै फर्कने वातावरण भने अझैपनि छैन । विदेश मन्त्रालयले टक र ट्याङ्करलाई मात्रै आईसिपीको बाटो प्रयोगका लागि अनुमति दिइएको हो ।

ठूला ग्यासका बुलेट १० देखि १५ वटा र कन्टेनर बोकेका लरी १ सय ५० वटाको सङ्ख्यामा दैनिक बाहिरिन्छन् ।

आईसिपीको बाटोमार्फत ट्रक र ट्याङ्कर भारत फर्कने भएसँगै दर्ता चलानीका लागि नेपालमा समेत आईसिपी नजिकै कार्यालय स्थापना भईरहेको छ । विराटनगर भन्सारका सूचना अधिकृत समेत रहेका पौडेलका अनुसार फर्कने मालवाहक ट्रक र ट्याङ्करको दर्ताका लागि साँझ ७ बजेदेखि विहान ७ बजेसम्म भन्सारले कर्मचारी खटाउने गरि कार्यालय स्थापना समेत भएको छ ।

नेपाल भारत समन्वय समितिको जिल्ला स्तरीय बैठकले भारतबाट आइसिपीको बाटो हुँदै बल्की कार्गो, ग्यासका बुलेट र पेटूोलियम पदार्थका ट्याङ्कलरी नेपाल ल्याउने सहमति गरेको थियो । कात्तिक महिनाको अन्तिम साता बसेको बैठकले सबै प्रकारका खालि मालवाहक सवारी छाड्न सहमति गरेपनि बैठकका निर्णयलाई भारतको विदेश मन्त्रालयले स्वीकृति दिएको छैन ।

विदेश मन्त्रालयले खालि ट्रक र ट्याङ्ककर मात्र फर्कन पाउने गरी स्वीकृति दिएर पठाएको हो ।

नेपालले जमिन ढिलो गरेर उपलब्ध गराएका कारण नेपालतर्फको आइसिपीको संरचना अझै निर्माणाधीन छ । १ सय २५ बिघा क्षेत्रफलमा निमार्ण भइरहेको आइपसीको संरचनाहरू धमाधम निमार्ण भइरहेको छ । आउँदो मार्चसम्ममा निमार्ण कार्य पुरा गर्ने निमार्ण कम्पनीले दाबी गरेको छ ।

भारततर्फको आइसिपीको संरचना भने तयार छ ।