जिरोपोइन्ट/ शिक्षा आर्जन गर्ने समयलाई मूल विषयवस्तु बनाइएको नेपाली फिल्म ‘समय’ धरानमा विशेष प्रदर्शनी गरिने भएको छ । निर्देशक सुरेन्द्र साहका अनुसार धरानको विष्णु मेमोरियल स्कुलमा मङ्सिर २१ गते विशेष प्रदर्शनी हुन लागेको हो । धरानमा मङ्सिर महिनाभरी ४ वटा विशेष प्रदर्शनी हुने भएको छ ।

अभिभावकलाई लक्षित गर्दै मङ्सिर २३ र २७ गते गोर्खा सिनेप्लेक्स प्रदर्शन गरिन लागिएको छ । त्यस्तै मङ्सिर २४ गते युरेका स्कुलमा प्रदर्शनी गरिने भएको छ । यसअघि पनि धरानको पब्लिक माविमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीका क्रममा अधिकांसले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको कार्यकारी निर्माता एवम् कलाकार विशाल श्रेष्ठले बताए ।

विद्यार्थीले स्कुले जीवनमा समयको महत्व नबुझ्दा कस्ता दुःखहरू आइपर्छन् र अभिभावकले आफ्ना बच्चालाई समय नदिँदा कस्तो पीडाबाट गुज्रिन्छन् भन्ने विषय नै फिल्मको मूल कथा रहेको साहले बताए । ५२ लाख रूपैयाको लागतमा निर्मित फिल्मको अधिकांश छायाङ्कन काभ्रेको मण्डन देउपुरमा गरिएको छ ।

ग्रामीण परिवेशमा उतारिएको फिल्मको कथा पनि त्यही सेरोफेरोमा घुमेको छ ।  फिल्म सन्देशमूलक बनेको निर्देशक साहले बताए । ‘अभिभावकले समय दिन नसक्दा र बच्चाले समय नचिन्दा कस्ता–कस्ता समस्या उत्पन्न हुन्छन् भन्ने देखाइएको छ ।’ उनले बुधबारको पत्रकार सम्मेलनमा भने ।

फिल्ममा डेब्यु कलाकार शैब श्रेष्ठ छन् । उनी विष्णु मेमोरियल स्कुलमै अध्ययरत छन् । फिल्मको कथा उनकै वरिपरि घुमेको छ । उनका अलवा मोनिका दहाल, सुरेन्द्र साह र विशाल श्रेष्ठलगायतको अभिनय रहेको छ । विशाल श्रेष्ठका अलवा कार्यकारी निर्माता उनकै श्रीमती शर्मिला श्रेष्ठ हुन् ।

डिके ढुङ्गानाको कथा रहेको फिल्मको निर्माता भने जोशीकुमार ‘बेल्जियम’ हुन् । क्रितान्सु फिल्मस् प्रालिको व्यानरमा फिल्म निर्माण भएको हो ।  साहले यसअघि मजदुर, ठूले, करणअर्जुन, बस्ती फिल्म निर्माण गरेका थिए । व्यवसायिक रूपमा ठूले फिल्मबाट साह स्थापित बनेका थिए ।