मधुमल्ला/मोरङको मिक्लाजुङ–९ मा क्रसर उद्योग र एग्रो टुरिजम एकसाथ सञ्चालनमा आउने भएपछि दुई कम्पनीका सञ्चालकबीच विवाद उत्पन्न भएको छ ।

उद्योगका सञ्चालकबीच एकले अर्कोलाई उद्योग सञ्चालन गर्न नदिने तयारी गरेको भन्दै आरोप-प्रत्यारोप गर्न थालेका छन् । मिक्लाजुङ–९ अबिरलचोक पश्चिमपट्टि करिब ६ बिघा जग्गामा एग्रो टुरिजमको अवधारणा अनुरूप अबिरल एग्रो फार्मको संरचना निर्माण भइरहेको छ ।

त्यस्तै सोही फार्मसँग जोडिएर देबिथान मिनरल्स उद्योग नामको क्रसर उद्योग निर्माण भइरहेको छ । क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालय विराटनगर मोरङमा २०७४ चैत्र २५ गते दर्ता गरी मिक्लाजुङ गाउँपालिकासँग सञ्चालन अनुमति लिएको छ भने कृषी फार्मले उर्लाबारी नगरपालिका १ नम्बर वडासँग मंसिर १२ गते मात्र सिफारिस लिई सञ्चालनको दर्ता प्रक्रिया पूरा गरेको छ । जहाँ विगतदेखि नै सीमाना विवाद कायमै छ ।

क्रसरले ध्वनि र धुलो प्रदुषणले कृषि फार्मसहितको रिसोर्ट प्रभावित हुने भन्दै एग्रो फार्मका संचालकहरूले आपत्ति जनाएका छन् । अबिरल कृषि फार्मका संचालक प्रेम भण्डारीले मानव बस्तीको विचमा क्रसर उद्योग संचालन गर्न नमिल्ने बताए ।

उनका अनुसार समग्र मिक्लाजुङको पर्यटनलाई टेवा पुर्याउने हेतुले बृहत कृषि फार्म र रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । माछा पालनका लागि करिब ३५ लाख खर्चिएर तीन वटा पोखरी समेत बनाईसकेको अवस्थामा क्रसर सञ्चालनमा आए आफुहरुको एग्रो टुरिजमको अवधारणा धरासायी हुने कृषि फार्मका सञ्चालक गोमा नेपाल बताउँछिन् ।

उता क्रसर उद्योगका सञ्चालक बबी राईले एक वर्ष अघिनै आफूहरूले सबै मापदण्ड पूरा गरी सम्बन्धित निकायबाट स्वीकृत लिएको बताए । वन तथा वातावरण मन्त्रालय, घरेलु तथा साना उद्योग विभागलगायतका निकायबाट अनुमति लिई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) रिपोर्ट समेत तयार पारी काम भईरहेका बेला क्रसर बन्द गर्न कृषि फार्मका सञ्चालकहरू नियोजित रुपमा लागेको उनको आरोप छ ।

आफु सधियार भए पनी उधोग स्थापना पूर्व चारकील्ला सर्जिमिनमा सधियारलाई नसोधीनु र कृषी उधोग दर्ता भएको भोली पल्ट नै क्रसर दर्ता खारेज गर्ने माग आउनु सुनियोजित रूपमा लागेको राईको दाबी छ ।

विवादबीच प्रदेश नंं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कृषि फार्मको स्थलगत निरीक्षण गरेका छन् ।