उदयपुर/ उदयपुरमा पनि २७ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।  अपाङ्ग विकास सङ्घ उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र ओेरेक नेपालको सहयोगमा एक कार्यक्रम गरी सोमबार दिवस मनाइएको हो ।

‘अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिएको थियो । अन्तक्र्रिया तथा आँखा र कानको एक दिने शिविर राखिएको अपाङ्ग विकास सङ्घ उदयपुरले जनाएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानले शिविरमा भेटिएका जटिल बिरामीको निःशुल्क अप्रेशन गरिदिने राईले बताए । आँखा उपचार केन्द्र उदयपुरमा शिविर सञ्चालन गरेको थियो ।

कतिपय अपाङ्गता भएकाहरूको आर्थिक अभावका कारणले निको हुने रोगसमेत बोकेर बस्नु पर्ने बाध्यतालाई मध्यनजर राख्दै दिवसको अवसरमा अपाङ्गता भएकालाई सहज र सरल तरिकाले सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरेको सङ्घले जनाएको छ ।

शिविरमा एक सय ९० जना बिरामीले आँखा र कानको परीक्षण गराएका थिए । १ सय ६० जना आँखाका बिरामी मध्ये ३० जनाको मेजर अप्रेशन गर्नु पर्ने र ४ जनाको माइनर अप्रेशन गर्नु पर्ने देखिएको आँखा उपचार केन्द्र उदयपुरका प्रमुख डाक्टर डीआर तिमल्सिनाले बताए ।

अप्रेशन गर्न आँखा अस्पताल लहान तयारी भइरहेको र कानको भने सबै सामान्य बिरामी भेटिएको तिमल्सिनाले बताए ।

२०६८ सालको जनगणनाले ७ हजार ७ सय ८१ जना अपाङ्गता भएका व्यक्ति रहेको देखाएको छ भने सङ्घको विवरणमा भने ६ हजार १ सय ५९ जना मात्रै देखिएको छ । विभिन्न रूपमा अपाङ्गता भएकाको कुल जनसङ्ख्याको ६७ प्रतिशत साक्षर रहेको र बढी कृषि पेसामै आधारित रहेको सङ्घको तथ्याङ्कले देखाएको छ ।

एक हजार एक सय ६७ जनाले विभिन्न सेवा सुविधा लिएका छन् भने ४ हजार ८ सय ८४ जनाले कुनै प्रकारको सेवा नलिएको राईले बताए ।  सङ्घले विभिन्न निकायसँग समन्वय गरी अपाङ्गतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

तर राज्य सङ्घीय प्रणालीमा गए यता स्थानीय सरकारले अपाङगता भएकालाई हेला गरेको गुनासो बढेको राईले बताए । स्थानीय तहका कतिपय वडाले अपाङ्ग लक्षित बजेट र कार्यक्रम कटौती गर्ने, सवल र सहभागिता नगराउने, बजेट तथा स्रोत परिचालन नगर्ने गरेको राईले आरोप लगाए ।

अपाङ्गता भएकाको अधिकार सम्बन्धी ऐन २०७४ बने पनि स्थानीय तहमा कार्यान्वयनको पक्ष भने अझै ओझेलमै परेको राईले बताए । अपाङ्गतालाई लक्षित गरी सङ्घले विभिन्न कार्यक्रम मध्ये जिविकोपार्जन सम्बन्धी कृषिका लागि बिउ–विजन, सहायक सामग्री वितरण तथा फिजियोथेरापीको समेत सेवा उपलब्ध गराउँदै आएको राईले बताए ।