बिर्तामोड/श्रीमानसँग सम्बन्ध विच्छेदपछि घरबारविहिन बनेकी एक महिलाले घर पाउने भएकी छिन् । घर निर्माण गर्न नसकेर आफन्तको आश्रयमा बस्दै आएकी झापा बिर्तामोड-२ की रेखा पोखरेल (सापकोटा) को घर निर्माण भइरहेको छ । ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल तथा सहारा नेपालको संयुक्त सहयोगमा उनको घर निर्माण भएको हो ।

ह्याविट्याट र स्थानीय सरकारको सहकार्य तथा सहारा नेपालको प्राविधिक सहयोगमा बिर्तामोड-२ पाथिभरा टोलमा पोखरेलका मामा वलराम प्रसाईले दिएको ५ धुर जग्गामा घर निर्माण भएको हो ।

५ वर्ष अघि श्रीमानले छाडेपछि दिदीभिनाजुको आश्रयमा आमा पालेर र एक छोराका साथ बस्दै आएकी २९ वर्षिया पोखरेलको घर निर्माण भएपछि उनी अहिले खुसी भएकी छिन् । ‘ श्रीमानसँग सम्बन्ध विच्छेद हुँदा ३ लाख रुपैयाँ दिने निर्णय भएको थियो’ पोखरेलले भनिन् ‘तर पछि एकलाख ५० हजार मात्र दिए ।’ ‘त्यो पैसालले जग्गा किन्न पुग्दैनथ्यो, घर बनाउने त कुरै भएन ।’ उनले भनिन् । पोखरेलको घर निर्माणका लागि बुधवार झापाली पत्रकारहरुको टोलीसहित सहारा नेपालका कर्मचारीले समेत श्रमदान गरेका छन् । उनीहरुले घरको भुईतलामा सोलिङ गरी ढलाई गर्न श्रमदान गरेका थिए ।

ह्याविट्याटले ३ लाख ६५ हजार खर्च गरेर पोखरेलको घर निर्माण गरेको हो । पोखरेल सहारा नेपाल बिर्तामोड सेवा केन्द्र अन्र्तगतको कोपिला सहारा महिला समुहकी सदस्य समेत हुन् ।

सहारा नेपालको सामुदायिक सुरक्षित कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७३/०७४ मा झापाको मेचीनगर, अर्जुनधारा र कनकाई नगरपालिकामा ६२ वटा घर निर्माण गरिसकेको सहारा नेपालकी हाउजिङ संयोजक लीला शिवाकोटीले बताइन् ।

ती मध्ये १० वटा घर सम्पूर्ण खर्च गरेर निर्माण गरेको र अन्य घर निर्माणका क्रममा सहाराले प्रत्येकलाई ६४ हजारकादरले आर्थिक सहयोग गरेको उनले बताइन् ।

सहारा नेपालको सामुदायिक सुरक्षित कार्यक्रम अन्र्तगत घर निर्माण गर्न नसक्ने एकल महिला, विपन्न परिवार, अपाङ्गलाई यस वर्ष असारसम्म दुई सय ५० घर निर्माण गर्ने लक्ष्य रहेको सहारा नेपालकी कार्यक्रम व्यवस्थापक पुष्पाञ्जली सिन्हाले बताइन् ।

घर निर्माणका लागि प्रत्येकलाई ह्याविट्याटले ५० हजार सहारा नेपालले २५ हजार र स्थानीय सरकारले ७५ हजार गरेर संयुक्त रुपमा सहयोग गरी निर्माण गरिने उनले बताइन् । ह्याविट्याट र सहाराले विगत १४ वर्षदेखि विभिन्न कार्य संयुक्त रुपमा गर्दै आएका छन् ।

ह्याविट्याटले नेपालमा २१ वर्षदेखि न्यून आयस्तर भएका परिवारलाई आवस निर्माणमा सहयोग गर्दै आएको बताइएको छ । स्थानीय सामाजिक संघ संस्थाहरुसँगको सहकार्य र सहभागितामा अहिलेसम्म ७० हजार ९ सय ६९ वटा भन्दा बढी घरहरु स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग गरी निर्माण भइरहेको जनाइएको छ ।