धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कलेजो सम्बन्धि रोगको उपचारमा सहजता हुने भएको छ । स्वीजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले कलेजो परीक्षणका लागि अति आवश्यक पर्ने उपकरण फाइब्रोस्क्यान मेशिन प्रतिष्ठानलाई उपलब्ध गराएपछि सहजता हुने भएको हो ।
प्रतिष्ठानले पत्रकार सम्मेलन गरी कलेजो रोगको उपचारबारे बुधबार जानकारी गराएको थियो । यो उपकरणको सहयोगले वायोप्सी नगरी नै सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक विरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण हुने भएको छ । पहिले अल्ट्रासाउण्ड गरेर वायोप्सी गरेपछि मात्र कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार हुने गर्दथ्यो । तर अब कलेजोको वास्ताविक अवस्था अर्थात फाब्रोसिस कति छ वा कलेजो कति कडा भएको छ भन्नेबारे एकिनका साथ उपचार हुने भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले कलेजोको उपचारमा यो महत्वपूर्ण उपलब्धि भएको बताए । उनले प्रतिष्ठान आफै यो उपकरण खरिद गर्न लागेको अवस्थामा जेनेभा युनिभर्सिटी अस्पतालले सहयोग गरेपछि प्रतिष्ठानको करिव २ करोड बचत भएको बताए ।
प्रतिष्ठानको ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी डिभिजनका प्रमुख डा. विक्रम प्रधानले हेपाटाइटिस बी र सी तथा मदिराका सेवनका कारण कलेजोमा घाऊ, चिल्लो पदार्थ तथा फाइब्रोसिस भएका विरामीहरुको उपचार पद्धति अत्यन्तै सहज हुन गएको बताए । अब कलेजो कुन अवस्थामा छ भन्नेसमेत स्पष्ट थाहा पाउन सक्ने भएकाले उपचार प्रभावकारी हुने उनले बताए । जेनेभावाट प्रतिष्ठान आएका डा. लउरेन्ट स्फरले सुन्दर देश नेपालको महत्वपूर्ण शैक्षिक संस्थासंग सहकार्य गर्न पाउंदा अत्यन्त खुशी लागेको बताउंदै विरामीहरुलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
कलेजो फुटेरा रक्तस्राव भएको, एसिड खाएर खुम्चेको अन्ननली तथा मलद्धारको समेत सफल उपचार भईरहेको र विगतमा जोखिमपूर्ण तरिकाले छाती तथा पेटवाट कलेजोको नमुना झिक्ने गरेकोमा अब विना जोखिम घांटीको नसावाट झिक्न थालिएको समेत सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा सहायक अस्पताल निर्देशक डा. विकास साह, मेडिसिन विभागका डा. डेनिस पियुस, अस्पताल प्रशासनका सुपरभाइजर प्रकाश श्रेष्ठ, सुचना अधिकृत सुजेन्द्र तामाङ, नर्सिङ कर्मचारी समृद्धि राई लगायतको उपस्थिति रहेको थियो । यो सेवा नेपालमा नहुदा भारतमा पुगेर महगो उपचार गरउादै आएका थिए । अव भने भारतमा भन्दा जस्तोमा प्रतिष्ठानमै उपचार सम्भव भएको छ ।