धरान / अमेरिकाको न्युयोर्कमा २४ डिसेम्बरमा आयोजना हुने ‘सुम्निमा साँझ–१०’ को तयारीमा आयोजक संस्था किरात राई सोसाइटी अफ अमेरिका जुटेको छ ।

किरात राई समुदायको सांस्कृतिक पर्व उँधौली र उँँभौलीको अवसर पारेर हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको सोसाइटीले त्यसैको निरन्तरता दिँदै विशेष कार्यक्रम गर्न लागेको हो । ‘सुम्निमा साँझ’ को १० औं संस्करणलाई भव्य रूपमा मनाउन लागिएको आयोजक समितिकी संयोजक निला राईले जानकारी दिइन् ।

‘सुम्निमा साँझ’मा किरात राईहरूको सांस्कृतिक कार्यक्रमका साथै न्युयोर्कवासी नेपालीहरूले गायक तथा सङ्गीतकार भूवन सुप्तिहाङ राई, विल्सनविक्रम राई ‘तक्मे बूढा’ र गायक विनोद राईको प्रस्तुति हेर्न पाउने छन् । कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नका लागि व्यापक तयारी भइरहेको संयोजक राईले बताइन् । ‘सुम्निमा साँझ’ राईहरूको मात्र नभएर न्युयोर्कमा बस्ने सबै नेपालीको साझा पर्व रहेको सोसाइटी न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राईले बताइन् ।

कार्यक्रममा साङ्गीतिक प्रस्तुतिसँगै साकेला नृत्यको विशेष प्रस्तुति हुने बताइएको छ । कार्यक्रमबाट उठेको रकमबाट किरात सांस्कृतिक भवन स्थापना गरिने आयोजकको भनाइ छ । सुम्निामा साँझको आयोजनाले नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र नेपाली साङ्गीतिक क्षेत्र र सङ्गीतकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको गायक तथा सङ्गीतकार भूवन सुप्तिहाङ राईले बताए ।