इटहरी /  नेपाल पत्रकार महासंघ सुनसरी शाखाले यस वर्ष वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।  सुनसरीमा पहिलोपल्ट सप्ताहव्यापी पत्रकार र पत्रकारितासम्बन्धी विविध रचनात्मक क्रियाकलाप समावेस गरि कार्यक्रम गर्न लागेको हो । विहीबार बसेको पत्रकार महासंघ जिल्ला शाखाको बैठकले सप्ताहव्यापी कार्यक्रम आगामी पुस १५ गते सुरु गरेर पुस १९ गतेसम्म गर्ने भएको हो ।
कार्यक्रम अनुसार, पहिलो दिन (पुस १५ गते) महासंघको धरानमा निर्माण भएको दोस्रो तला भवन उद्घाटन, दोस्रो दिन (पुस १६ गते) इनरुवामा पत्रकारितामा विद्यमान चुनौती र सामाजिक उत्तरदायित्व विषयक अन्तरक्र्रिया गर्न लागेको हो ।
यस्तै, तेस्रो दिन (पुस १७ गते) इटहरीमा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुतीसँगै फोटो प्रदर्शनी पनि गर्ने भएको छ । महासंघले जिल्लाको इतिहास लेखन कामलाई समेत अघि बढाउने भएकाले गर्दा पत्रकारका सृजना सार्वजनिक तथा प्रस्तुती कार्यक्रम राखिएको हो ।
यही दिन पत्रकारका स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य शिविर गरिने भएको छ । स्वास्थ्य शिविर कार्यक्रम गर्न महासंघ जिल्ला उपाध्यक्ष सुभद्रा प्याकुरेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।
चौथो दिन (पुस १८ गते) धरानमा पत्रकारकै लागि खेलकुद कार्यक्रम र पाँचौ दिन (पुस १९ गते) धरानमै साधारणसभा गरिनेछ । खेलकुद कार्यक्रमका लागि जिल्ला सदस्य धिरेन लिम्बुको संयोजकत्वमा समिति बनेको छ । साधारणसभामा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि स्थापना गर्न लागिएको हित कोषको कार्यविधि पारित र भावि कार्यक्रम पारित गरिनेछ । साधारणसभाका लागि जिल्ला उपाध्यक्ष सन्तोष काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ ।
कार्यक्रम सफल पार्न जिल्ला कोषाध्यक्ष गोविन्द बस्नेतको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । यस्तै, अतिथि सत्कारका लागि जिल्ला उपाध्यक्ष सुभद्रा प्याकुरेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।