धरान / युनाइटेड गोर्खा एकेडेमीले स्कुल स्तरीय ‘छैठौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कप’ गर्ने भएको छ ।

माघ २ गतेबाट प्रतियोगिता गरिने स्कुलले जनाएको छ । ‘विद्यार्थीहरूको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तारको लागि खेलकुद’ भन्ने नाराका साथ यसवर्ष छैठौं युजिए भलिबल कप हुन लागेको हो । २०७० सालदेखि प्रारम्भ भएको प्रतियोगितामा सुनसरीभरीका स्कुलहरू सहभागी हुने स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए ।

उनका अनुसार छात्रछात्रा गरी अनुमानित २५ टिम सहभागी हुने छन् । प्रतियोगिता विजेता छात्रछात्रा टिमले नगद १५ हजार रुपैयासहित ट्रफी पाउने छन् भने दोस्रोले १२ हजार र तेस्रोले नगद १० हजार रुपैयासहित ट्रफी पाउने छन् ।

टाइटलतर्फ बेष्ट सर्भिस, बेष्ट डिफेन्स, बेष्ट लिफ्टर, बेष्ट स्पाइकर र बेष्ट ब्लकर छात्रछात्रालाई नै जनही नगद १२ सय रुपैयासहित ट्रफी पाउने उनले जानकारी दिए ।

प्रतियोगितामा करिब ७ लाख १६ हजार रुपैया लागत अनुमान गरिएको छ । प्रतियोगिता माघ ५ गते सम्पन्न हुने एकेडेमीले जनाएको छ ।