विजयपुर / पूर्वकै धार्मिक पर्यटकीय क्षेत्र विजयपुरका ऐतिहासिक महत्वका मठमन्दिर तथा पुरातात्विक क्षेत्रको संरक्षणमा संघीय मामला मन्त्रालयले चासो देखाएको छ ।
सदियौदेखि धार्मिक आस्थाको केन्द्र विन्दु बनेको विजयपुरमा रहेका मठ मन्दिर तथा पुरातात्विक वस्तुहरुको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले शनिवार अवलोकन गर्दै संरक्षण र संवद्धनका लागि सहयोग गर्ने बताएका छन् ।
अवलोकन पश्चात १४ नं. वडा समितिले सचिवको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी भएका थिए ।
विजयपुरबासी शिक्षाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले विजयपुर धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान भएपनि यहाँको विकास साचेजस्तो नभएको सचिव थपलियालाई बताएका थिए । उनले खानेपानीको अभावका कारण धेरै पर्यटकहरुले हैरानी व्यहाेर्नु परेकाे जानकारी गराएका थिए । उनले ढिलै भए पनि विजयपुर चौकमा खानपानी ट्यांकी निर्माण भएकोले यसले यहाँ घुम्न आएका आन्तरिक तथा वाहय पर्यटकलाई केही सहजता हुने बताए ।

कार्यक्रममा धरान वडा नंं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरको विकासका २७ बुँदे माग पत्र संघीय मामला मन्त्रालयका सचिव थपलियालाई बुझाएका थिए ।
मागपत्रमा आदिवासी जनजातिहरुको संग्राहालय,, विजयपुरको मन्दिरहरुको जिर्ण अवस्था र बाटोको समस्याबारे उल्लेख गरिएको छ । संघीय मामला मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले धरानको विजयपुर धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएको बताए । पूर्खाली घर संखुवासभाबाट अध्ययनका लागि काठमाण्डौ जाँदा आमाले विजयपुरका मठमन्दिरमा गएर पूजा आजा गरेर मात्र जानु भन्ने कुरा सम्झदै विजयपुरका इतिहास पुरानो भएको उल्लेख गरे ।

उनले यहाँको वस्तुस्थितिका विषयमा संघीय मामीला मन्त्रालयले नजिकबाट निकायलको बताउदै स्थानीय स्तरमा भएका सम्पूर्ण कामहरु स्थानीय सरकारलाई दिए पनि स्थानीय संचालन ऐनमा धेरै कुरा समेटन बाँकी रहेको बताए । उनले स्थानीय स्तरका भौतिक पूर्वाधार, महत्वपूर्ण स्थान तथा मठमन्दिरको संरक्षण तथा विकास स्थानीय सरकारकै भए पनि मठमन्दिरको हकमा भने गुठीसुधार ऐनले यस्ता काम गर्न कठिनाइ भएको बताए ।
सो अवसरमा सचिव थपललियाले विजयपुर चौकमा रहेको २ हजार लिटरका खानेपानी ट्यांकीको समेत उद्घाटन गरेका छन् । ट्यांकी निर्माणामा  नन्द गणेश बसन्तकुमार कर्माचार्य स्मृति प्रतिष्ठान धरानले सहयोग गरेको थियो ।