विराटनगर/ वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस बनाएर लुटपाट गरेको छ ।

दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी–३ का खगेन्द्र लिम्बू लुटिएका हुन् ।  लिम्बूलाई बेहोस मात्रै पारिएन काठमाडौंबाट इटहरीका लागि बस चढेका उनलाई विराटनगर बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा बसका कर्मचारीले छोडिदिए ।

आफन्तले सम्पर्क गर्दासँगै यात्रा गरेका एक व्यक्तिले अवस्थाबारे बताएपछि भेट्न आएका आफन्तले आइतबार बिहान लिम्बूलाई अचेत अवस्थामा फेला पारेका थिए । ‘हामीले आइतबार बिहान भेट्दा चिसो र कठ्यांग्रिएको अवस्थामा फेला पार्यौ, उनी पुरै बेहोस थिए,’ खगेन्द्रका दाजु प्रेमकुमार लिम्बूले भने, ‘त्यसपछि कोशी अस्पतालमा लग्यौँ र अहिले नोबेल अस्पतालमा उपचार गराइरहेका छौं ।’

गत वैशाखमा दुबई गएका उनी भतिजीको विवाहका लागि केही पैसा लिएर घर फर्किएका थिए । तर, विचैमा उनी लुटपाटमा परे । नोबेल अस्पतालमा उपचार गराइरहेका उनले आफ्नो १ तोलाको औंठी, २६ हजार रुपैयाँ नेपाली रुपैयाँका साथै ५ सयभन्दा बढी दिराम लुटिएको बताएका छन् ।

‘राती साढे ३ बजेको थियो होला,’ नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत उनले भने, ‘त्यसपछिको अवस्था मलाई थाहा छैन, अहिले पनि म कसरी र किन यहाँ आइपुगे भन्नेबारे जानकारीमा छैन ।’

वडा प्रहरी कार्यालय विराटनगरले बसका सहचालक तथा १ जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ । ना ६ ख १५६१ नम्बरको कोशी पशुपतीमा यात्रा गरेका उनी लुटिनु भनेको यात्रुहरु असुरक्षित हुनु भएको उनका आफन्त सन्तोष लिम्बूको भनाइ छ ।

बसपार्कमा बेहोस भेटिएका उनलाई कोशी अस्ताल भर्ना गरिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसक्ने बताएपछि नोबेलको आइसियुमा राखेर उनको उपचार भइरहेको छ ।

डाक्टरले उनलाई विष सेवन गरेको बताएको आफन्तको दाबी छ । खानामा मिसाएर विष दिएको हुनसक्ने खगेन्द्रका आफन्त सन्तोषको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

घटनामा बसका चालक तथा कर्मचारीको मिलेमतोमा लुटपाट भएको आशंका रहेको आफन्त बताउँछन् ।