उर्लाबारी/नेपाली काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाली काङ्ग्रेसले कर्मअनुरूपको फल पाएको बताएका छन् ।

२०७२ साल असोज ३ गते संविधान घोषणा गरेपछि प्रधानमन्त्री नबन्ने सार्वजनिक गरेका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाले पुनः प्रधानमन्त्रीमा उम्मेद्वार दिनु, प्रधानन्याधीशलाई महाअभियोग लगाउने निर्णय गर्नु, प्रहरी महानिरीक्षक नियुक्तमा हस्तक्षेप गर्नु, भरतपुरमा माओवादीसँग तालमेल गर्नुलगायतका कार्यलाई मतदाता र कार्यकर्ताले मन नपराएका कारण पार्टी पराजित भएको बताए ।

नेता थापाले अब जनभावना र कार्यकर्ताको मागअनुसार कार्य गर्न आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको १० महिने कार्यकालको खण्डनमा खरो उत्रिएका नेता थापाले भाषणमा जति क्रान्तिकारी गफ गरे पनि व्यवहारमा त्यस्तो केही परिवर्तन नभएकोले पुनः चारवर्षपछि हुने निर्वाचनमा नेकपाको पनि काङ्ग्रेसको जस्तै हविगत हुने ठोकुवा गरे ।

नेपाली काङ्ग्रेस नगर समिति उर्लाबारीले मङ्गलबार दुर्गापुरीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता थापाले सरकारको विरोध गर्न अब प्रतिपक्षको आवश्यक नभएको बताए । उनले नेकपाका नेताहरू माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतम, नाराणकाजी श्रेष्ठलगायतका सचिवालयका नेताहरूनै काफी भएको बताए ।

नगर सभापति बिरबल थापाको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेसका क्षेत्रीय सभापति खड्ग फागो, महिला सङ्घका क्षेत्रिय सभापति गोमा नेपाललगायतले मन्तब्य राखेका थिए । अन्य पार्टी परित्याग गरी करिब २ सयजना काङ्ग्रेसमा प्रवेश गरेको नगर सचिव राजु लामाले बताए ।