काठमाडौँ / राष्ट्रिय ख्रीष्टियन महासङ्घले ख्रीष्टमस (क्रिसमस) मा सार्वजनिक बिदा कायम गर्न सरकारसँग पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको ध्यानाकर्षण गराएको छ । 

महासङ्घका अध्यक्ष सि.बि.गहतराजको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आयोगस्थित अध्यक्ष शर्माको कार्यकक्षमा आज सो विषयमा ध्यानाकर्षण गराएको हो । विसं २०६४ देखि निरन्तर रुपमा दिइदै आएको सार्वजानिक बिदा यस वर्ष सरकारले ख्रीष्टियनका लागि मात्र कायम गरिएको हुँदा महासङ्घको गम्भीर ध्यानकर्षण भएको र यसले ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेको पत्रमा उल्लेख गरिएको छ । 
ज्ञापनपत्र बुझेपछि आयोगका अध्यक्ष शर्माले विगतमा ख्रीष्टमसका दिनमा सार्वजानिक बिदा उपलब्ध गराउन आयोगले भूमिका निर्वाह गरेको स्मरण गराउँदै आगामी दिनमा पनि बिदा कायम गर्न सरकारलाई पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष गहतराजले विगतमा सरकारसँग भएका समझौता कार्यान्वयन गर्नुपर्ने बताउँदै सो समूदायका चर्चलाई गुठीका रुपमा सञ्चालन गर्नुपर्ने माग गर्नुभयो । देशभर करीब २० लाख अनुयायी तथा १२ हजार चर्च रहेको महासङ्घले जनाएको छ ।