मेचीनगर/ दिउसो ३ बजेको छ । झापा काँकडभिट्टास्थित स्वास्थ्य चौकी सुनसान छ । चौकीका अधिकांश कोठाहरू खाली–खाली छन् । स्वास्थ्यचौकीका प्रमुखमात्रै हैन, अधिकांश कर्मचारी कार्यालयमा छैनन् ।

सामानहरू असरल्ल अवस्थामा छन् । स्वास्थ्यकर्मीलाई भेट्न ब्लाष्टकर्मी पुग्दा त्यहाँ कोही भेटिएनन् । कार्यालय सुनसान थियो । कार्यालयमा न त प्राविधिक भेटिए न त खटिएका अन्य कर्मचारी । सरकारे नियमानुसार ४ बजेसम्म कार्यालय खुल्नुपर्ने हो । तर, त्यहाँ त्यो अवस्था देखिएन ।

छिटफुटरूपमा रहेका सेवाग्राहीहरू डाक्टर कुरिरहेका थिए । उक्त स्वास्थ्य चौकीमा सहयोगीसहित ८ स्वास्थ्य कर्मचारी कार्यरत छन् । तर, कार्यालयमा सहयोगी पनि भेटिएनन् । सहयोगीबाहेक अन्यको त माथिको तस्बिर हेरे काफी हुन्छ ।

स्वास्थ्य चौकीका प्रमुखसहित अन्य स्वास्थ्य कर्मचारी नभेटिएपछि चौकीका प्रमुख तालबहादुर खड्कालाई फोनमार्फत् बुझ्दा १० मिनेट नबित्दै कार्यालयमा हाजिर भए । उनले कर्मचारी खाजा खान गएको भन्दै पन्छिने प्रयास गरे ।

कोही नगरपालिका र कोही बिदामा रहेको भन्दै तर्किए । उनले आफू भने कार्यालयको कामले बाहिर रहेको स्पष्ट पारे । अर्का स्वास्थ्यकर्मी लेखनाथ खतिवाडालाई फोनमार्फत् बुझ्दा आफू धुलाबारी रहेको बताए । कार्यालय समयमा धुलाबारी ? भन्ने जिज्ञासामा ३ बजेपछि खाजा खान निस्किएको सहजै जवाफ दिए ।

स्वास्थ्य चौकीका अर्का कर्मचारी हरिचन्द्र देवकोटा कार्यालयको कामले नगरपालिका गएको प्रमुख खड्काले बताए । कतिपय बिरामीहरू सेवा नलिई नै फर्किको पाइएको थियो ।

स्वास्थ्य चौकीको समय अवधिका विषयमा मेचीनगर नगरपालिकाकी स्वास्थ्य विभाग प्रमुख शशिकला राईलाई बुझ्दा उनले १० देखि ३ बजेसम्म बिरामी जाँच गर्ने त्यसपछिको एक घण्टा प्रशासनिक तथा अन्य काम गर्नुपर्ने प्रावधान रहेको बताइन् ।

यही कारण सरकारी कामप्रति नागरिकहरू विश्वस्त नहुने गरको नाम नछाप्ने शर्तमा स्थानीयले बताए ।