धरान/ नेपाली साहित्यमा बाहिर आउन नसकेको मुन्धुमी पात्र, घट्ना, बिम्ब र प्रतीकलाई नेपाली कवितामार्फत् तेह्रथुमका साहित्य प्रेमीहरूले मङ्सिर २८ गते सुन्न सक्ने छन् ।

झापाको सक्रिय साहित्यिक संस्था नेपाल लिटरेरी ग्रुपको आयोजना र तेह्रथुम साहित्य प्रतिष्ठानको सहआयोजनामा १८ औं अनप्लग्ड कविता साँझमा मुन्धुम कविता सुनिने छ । चार वर्षदेखि मुन्धुम कविता लेखनमा सक्रिय सुनसरीका सञ्चारकर्मी, कथाकार प्रदीप मेन्याङ्बो मुन्धुमी कविता सुनाउने तयारीमा जुटेका छन् ।

‘मुन्धुम कविता वास्तवमा यो कुनै प्रयोग होइन । न त साहित्यमा नँया हो । हामी विश्वको साहित्य अध्ययन गर्छौ । त्यसमा हामीले बढी पढेका, सुनेका साहित्य कि पूर्वीय दर्शनबाट प्रभावित छन् कि पाश्चात्य दर्शनका,’ मेन्याङ्बोले भने, ‘तर मुन्धुमका ज्ञान, पात्र, बिम्ब, प्रतीक र घटनाहरू अझै पनि आम सम’दायका लागि साहित्यको रूपमा बाहिर आउन नसकेकाले मैले आफ्नो प्रयासले कविताको रूपमा तयार गरेको हो ।’

हिन्दुको दर्शन भित्र अथाह ज्ञान, तत्व मिमांसादेखि अनेक पात्र, घटना छन् । त्यस्तै पाश्चात्य दर्शनमा पनि छ । ग्रीक र ल्याटिन प्राचीन दर्शनमा पनि उस्तै पात्र र घटनाहरू छन् । बौद्धको त्रिपिटकदेखि मुस्लिमको कुरानमा अनेक ज्ञान छन्, पात्र र उनीहरूसँग सम्बन्धित घटना छन् ।

नेपाली कविता साहित्यमा अहिलेसम्म पढिएका तिनै बिम्ब, प्रतीक र मिथक ह’न् । त्यसै मेसोमा मेन्याङ्बो मुन्धुमका मिथकलाई कवितामा प्रयोग गरिरहेका छन् ।

अरूले पनि मुन्धुममा भएका केही बिम्ब र प्रतीक प्रयोग गरेर कविता साहित्य नलेखेका होइनन् । तर कवि मेन्याङबोले भने मुन्धुमका पात्र, बिम्ब र प्रतीकमात्र ननिकाली ती पात्रसँग सम्बन्धित घटनाहरूलाई नै कविता बनाएर नयाँ प्रयोग गरेका छन् ।

२०६० सालमा ‘पुरुष गन्ध’ कथा सङ्ग्रह निकाले पनि पत्रकारितामै सक्रिय रहेका मेन्याङ्बोले पछिल्लो समयमा मुन्धुम कविता भनेर फेसबुकमा केही कविताहरू टाँसेपछि केही समालोचक, समीक्षकहरूले अहिलेसम्म कथा कविता, नाटक वा साहित्यमा नसुनिएको, बिम्ब, प्रतीक, घटना र तीसँग सम्बन्धित पात्र एकाएक मुन्धुमबाट निस्केकाले यसलाई थप पोलिस गर्न सुझाव दिए ।

मुन्धुमले लिम्बू समुदायले जुन प्रकृतिसँग नजिक भएर बाँचिरहेको समाज, परिवार, आर्थिक र सामाजिक, भूगोल, मनोसामाजिक, जडिबुटीदेखि जन्म, विवाह र मृत्युको वर्णन गर्छ ।

यसैको आधारमा लिम्बू समुदायको जीवन दर्शन तयार हुने गरेको छ । कवि मेन्याङ्बोसँगै झापाका कवि विराट किराती र तेह्रथुम साहित्य प्रतिष्ठानका अध्यक्ष दीपक कट्टेल आयामले कविता सुनाउने आयोजक सदस्य श्याम सिङ्घकले जानकारी दिए ।