जनकपुर । रामजानकी विवाह महोत्सवमा जन्ती बनेर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आइपुगेका छन् ।

उनलाई प्रदेश २ सरकारले भव्य स्वागत गरेको छ । भारतको अयोध्याबाट जन्तीका रूपमा योगी आइपुगेका हुन् । उनको भव्य स्वागत गरिएको छ । कार्यक्रम स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गरेका थिए ।

प्रदेश २ का डीआईजी हरिबहादुर पालका अनुसार जनकपुरधाम विमानस्थलबाट उनी जानकी मन्दिरमा पूजा गर्नेछन् । त्यसपछि प्रदेश २ सरकारको मधेश भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक भएपछि विवाह महोत्सवमा सहभागी भएका थिए । बाह्रबिघा मैदानमा आयोजना हुने स्वयंवरमा उनी सहभागी भएका थिए । उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत राजपा, मधेशी जनअधिकार फोरमलगायतका नेताहरूले भेट गरेका छन् ।

विवाह पञ्चमीमा सहभागी भई आदित्यनाथ सोझै विमानस्थल पुगेर लखनऊ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको डीआईजी पालले जनाए । दिवाभोजका क्रममा आदित्यनाथले प्रदेशका नेताहरूसँग सामूहिक भेटघाट भएको थियो । मुख्यमन्त्रीको सम्मानमा आयोजित दिवाभोजमा ३६ व्यञ्जन राखिने भएको प्रदेश सरकारले जनाएको छ । दिवाभोज (भण्डारा) मा भारतबाट जन्ती भएर आउने साधुसन्त, राजनीतिक, सामाजिक क्षेत्रका अगुवाहरू पनि सहभागी हुनेछन् ।

नेपाल प्रहरीका झण्डै तीन हजार ५ सय र सशस्त्र प्रहरीका एक हजार पाँच सय गरी पाँच हजार सुरक्षकर्मी परिचालन गरिने भएको छ । योगी आदित्यनाथलाई तीन तहको घेरामा सुरक्षा दिइने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।