दाङ । दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला शाहले गत असारसम्म १२ र साउनदेखि हालसम्म ११ वटा गरी जम्मा २३ वटा उजूरी आएको बताए । 

उनका अनुसार न्यायिक समितिमा आएका उजूरीमध्ये असार मसान्तसम्म सातवटा मुद्दा मिलापत्र भएका छन् । यस आवमा परेका ११ र गतवर्ष जिम्मेवारी सारेर पाँचवटा मुद्दामध्ये चार वटालाई मिलापत्र र चार वटालाई मिलाउनका लागि भन्दै सम्बन्धित वडामा सिफारिस गरी पठाइएको छ भने तीनवटा मुद्दालाई दाङ प्रहरीमा पठाइएको उपाध्यक्ष शाहले जानकारी दिए । 

हाल न्यायिक समितिमा पाँच थान मुद्दा रहेको र ती मुद्दा प्रक्रियामा रहेका छन् । सो गाउँपालिकाको न्यायिक समितिमा आउने धेरै मुद्दामा घरायसी झैझगडा, खेतीपाती नोक्सानी, कुलोपानी, बाटोघाटो, जग्गा विवाद रहेका छन् । 

गाउँपालिकाको भवन पुरानो र सानो भएकाले इजलासको छुट्टै कोठा नहुँदा साँघुरो कोठामा बसेर काम गर्दा कठिनाइ हुने गरेको उपाध्यक्ष शाहले बताए । उहाँले मुद्दा मिलान गर्दा आफूहरूले मेलमिलाप नीतिलाई प्राथमिकता दिएको पनि बताए । उनले भने, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ । गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ । विज्ञ कर्मचारी भएमा सजिलो हुने थियो ।”