धरान /  शारीरिक सुगठन खेलको विकास एवं प्रर्वद्धन गर्न धरान–१५ को एलाइनेट जिमको आयोजनमा दोस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने भएको छ ।

आगामी फागुन १० र ११ गते धरान–८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको आयोजक क्लवले जानकारी दिएको छ । एलाइनेट जिमको यो १६ औं संस्करणको रुपमा नेपाल च्याम्पियन गर्न लागेका ेहो । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, पाल्पा, कास्की, रुपन्देहीलगायत जिल्लाका करिब ५० जना बढी शारीरिक सुगठनका खेलाडीहरुले सहभागिता जनाउने आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । अहिले चयाम्पियनसिपहरु नियमित जसो भइरहेको छ, त्यसैले गत सालको भन्दा यसपाली धेरै सहभागी हुने अपेक्षा गरेको उनले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समुहबाट प्रतिस्पर्धा गराइने छ । प्रि–जर्जिङ राउण्डमा एक वजन समुहबाट ६ जना फाइनल प्रतियागितामा सहभागी गराइने अध्यक्ष लिम्बूले बताए । त्यसैले, फाइनल राउण्डको लागि कुल ३० जना खेलाडीहरु छनौट हुनेछन् । आयोजक क्लबले यो बर्ष उपाधि विजेतालाई नगद पुरस्कार राशीमा वृद्धि गरेको छ । ओभरअल राउण्डमा प्रथम हुदै नेपाल च्याम्पियन हुनेले नगद १ लाख ५० हजार हात पार्नेछ । उपविजेताले नगद ५० हजार, तेस्रोले हुने खेलाडीले ४० हजार, चौथोले ३० हजार र पाँचौ हुनेले नगद २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाउने छन् । यसैगरी, बेस्ट प्रोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ, बेष्ट टिम शिर्षकमा नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको दुई दिनअघि राष्ट्रिय जजेज कार्यशालासमेत गर्ने कार्यक्रम तय गरिएको छ । मोफसलबाटै राष्ट्रियस्तरका निर्णायकहरुको उत्पादन गर्ने उद्देश्यले जजेज कार्यशाला गरिने भएको क्लवका उपाध्यक्ष विकासकुमार गुभाजुले जानकारी दिए । कार्यक्रम आयोजना गर्न धरान उपमहानगरले सहयोग गर्ने भएको छ ।