बिर्तामोड / विश्वका एक प्रतिशत वालवलिका अटिजम प्रभावित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । अटिजम केयर नेपाल सोसाइटीको तथ्याङ्क अनुसार नेपालमा मात्रै अनुमानित तीन लाख बाल बालिकामा अटिजम भएको बताएको छ ।
झापाको बिर्तामोडमा बुधवार अटिजम सम्बन्धि अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी सोसाइटीले अटिजमबारे जानकारी दिएको थियो । सोसाइटीले प्रत्येक बर्ष विश्वमा १७ देखि १८ प्रतिशत अटिजमका व्यक्ति बृद्धि भइरहेको जनाएको छ । मस्तिकको उतार चढावका कारण आउने समस्या नै अटिजम हो ।
सोसाइटीले काठमाडौं, चितवन, गुल्मि, पोखरा, कविलवस्तु र सुर्खेतमा कार्यालय स्थापना गरेको जनाएको छ । झापामा पनि कार्यालय स्थापना गर्न लागेको संस्थाले जनाएको छ । वंशानुगत, वातावरण, संक्रमणका कारण अटिजम हुने सोसाइटीका प्रशासकीय अधिकृत सुरेन्द्र बज्राचार्यले बताए । विश्वको तथ्याङ्क अनुसार अमेरिकामा ५९ जना जन्मेका मध्ये १ जना, भारतमा ८ करोड, श्रीलंकामा २ लाख र दक्षिण कोरियामा २.६ प्रतिशत व्यक्तिमा अटिजम प्रभावित रहेको उनले बताए ।
के हो अटिजम
एक्लै वस्न रुचाउने, अनौठो लगाव हुने, बोलाउँदा नबोल्ने कहिलेकाँही नसुने जस्तो गर्ने, अरुसँग घुलमिल नहुने, डर नहुने खतरा नबुझ्ने, घाउ, चोट, दुःखाई प्रति वास्ता नगर्ने, साधारण शिक्षण विधिबाट नसिक्ने, प्रत्येक दिन एउटै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, हल्लिने, मच्चिने, हात हल्लाउने, उफ्रनेलगायतका क्रियाकलाप गर्ने, अत्याधिक चकचके वा अति निस्क्रिय हुन, विना कारण रुने, कराउने तथा चिन्तित हुनेलगातयका लक्षणहरु अटिजम प्रभावितले गर्ने गर्छन् ।
अहिलेसम्म अटिजम भएका ब्यक्तिहरुका लागि निको हुने औषधि नभएको बताउँदै विभिन्न किसिमका थेरापी तथा पुनःस्थापनाले सुधार गर्न सकिने ब्रजाचार्यले बताए । उनले अविभावक र शिक्षक शिक्षिका यसलाई सुधार गर्ने माध्यम हुने बताए । अटिजम केटीमा भन्दा केटामा ५ गुणा वढी भएको पाइने उनले बताए । जन्मेको १८ महिनादेखि ३ बर्ष भित्र यो समस्याको पहिचान गर्न सकिने र यो जीवनभर रहिरहने बताइएको छ ।
कार्यक्रममा संस्थाका झापा अध्यक्ष कुमार चुडालले अटिजम के हो भनेर बुझाउनै समस्या हुने गरेको बताएका छन् । झापामा १४ जना अटिजमका ब्यक्तिको पहिचान भएको उनले बताए । सोसाइटीको स्थापनापछि झापामा अटिजमका व्यक्तिहरु पहिचान र उपचार गर्न सजिलो हुने उनले बताए ।