निश्चित, व्यवस्थित र सरलीकृत नगरिएको हिन्दू संस्कारहरू नेपालमा कतिसम्म कुसस्ंकार भएर व्याप्त भएको कुरा न नेपाली समाजले बुझेको छ, न नेपालका हिन्दू धर्म सुधारकहरूले कहाँ कतिसम्म सुधार गर्नुपर्ने हो आँकलन गर्न सकेका छन् । नेपाली हिन्दू धर्मीहरूको कर्मकाण्डी कार्यमा पुरोहित बा ले शुरु गर्दा ‘हिमवत् खण्डे’ भन्दा त आनन्दै मान्छन् तर भारत वर्षे भन्दा... भन्ने अनि सुन्ने दुवैले चित्त दुखाउँछन् । यसले के कुरा प्रमाणित गर्दछ भने हिन्दू धर्मका जुनसुकै ग्रन्थहरू उहिले वा अहिले लेखिँदैछन्, ती सबैले हिन्दुस्तान राष्ट्र र त्यहाँका बासिन्दाहरूको हित गर्नको लागि लेखिएको हो । नेपाल र नेपालीहरूको भलाइका लागि लेखिएकै होइन । जब जुन धर्म र त्यसको संस्कार नेपाल र नेपालीहरूको हितमा लेखिएको होइन । अनि त्यस गुरुग्रन्थहरू नै विदेशी भएपछि त्यसलाई परिमार्जन वा संशोधन नेपालीहरूले गर्नुको के अर्थ ? अर्को कुरा, अहिले नेपालमा भएका हिन्दू धर्मका हिमायतीहरू वैदिककालमा हिन्दू धर्मावलम्बी थिएनन् ।
पण्डित, बस्न्यात, उपाध्याय, क्षेत्री, अज्र्याल, षड्का, पाँडे, जैसी, जोशी, पाध्या, ढुङ्ग्याल, सत्याल, खुदाल, गोतामे आदि मगर, खामजस्तै खसानी खसहरू हुन् । जो ऐतिहासिक कालखण्डमा बौद्धधर्मी थिए तर वर्तमान समयमा हिन्दू धर्मको काँचो वायु बनेका छन् । यो यथार्थ कुराको धरातलमा टेकेर हेर्ने हो भने नेपालमा हावैहावामा चलेका हिन्दू धर्मका कुसंस्कारहरू ए टु जेड परिवर्तन गर्नुपर्ने हुन्छ । समयसापेक्ष बहुआयामिक नेपालीहरूलाई उपयुक्त हुने खालको हिन्दु सस्ंकारहरू बनाउने कुरामा, विषयमा वा प्रस्तावमा सचेत नेपालीले अस्वीकार गर्ने प्रश्नै हुँदैन । तर मही नै अमिलो छ भने भाँडो पखालेर मात्र त्यो गुलियो मही बन्दैन । ठीक त्यसरी नै हिन्दू धर्मको संस्कारहरू भनेर हजारौं बेथिति समाजमा व्याप्त भइरहेको अवस्थामा मृत्यु संस्कारलाई १२ दिन कि ५ दिन वा कति दिन गर्ने भनेर चर्चा परिचर्चा वा त्यस विषयको कोठे निर्णय अथवा एनजिओको डलर पचाउ कार्यशाला गर्दैमा त्यो मृत्यु संस्कार सुधार भएर आउँदैन । केही उदाहरणहरू हेरौं ः
माधव नेपालले बाबुको काजकिरिया गरेनन् बरु प्रधानमन्त्री हुने लाइनमा दौरा–सुरुवाल लगाएर ज्ञानेन्द्रलाई ढोग्न गए । गगन थापाले विहेमा एक पैसा खर्च नगरेर, विहे खर्च सामाजिक संस्थालाई दान दिए तर शेरबहादुर देउबाले आरजु राणासँग विहे गर्दा करोडौं खर्च गरे । उपेन्द्र देवकोटाका छोरीहरूले बाबुको काजकिरिया गरे । प्रचण्डले आफ्ना दशौं हजार द्वन्द्वमा मर्ने कार्यकर्ताहरूको काजकिरिया गरेनन् गराएनन् तर प्रधानमन्त्री पद थामिन्छ कि भनेर सुनसरीको चतरामा ‘भैंसी दान’ कर्म गरे ।
प्रायः धार्मिक संस्कारहरू टाठाबाठाले लाटासोझालाई कज्याउन, पुरुषले महिलाहरूलाई हेप्न बनाएको–चलाएको हो (मोदनाथ प्रश्रित) । धर्म–कर्म, विवाह, ब्रतबन्ध, काजकिरिया शास्त्रीय विधि विधान दासप्रथा र सामान्ति युगका उपज हुन् (नरहरि आचार्य) ।
गरुड पुराण भनी वाचन गरिने असली गरुड पुराण होइन नक्कली हो (खगेन्द्र सङ्ग्रौला)  । गरुड पुराणभन्दा लुब्ध, कुरुप र विद्रुप कल्पना अन्त कतै छैन यो त्याग गर्नु नै हिन्दू धर्मसंस्कार सुधारको प्रथम पाइला हो । मृत्यु संस्कार आज धनीको लागि दम्भ र गरिबको लागि घोर पीडा दिने भद्दा, बोझिलो र खर्चिलो छ (प्रा.डा. रामचन्द्र गौतम) ।
– २०७३ जेठ २५ देखि २८ सम्मको विश्वहिन्दू परिषद् (विहिप) को हिन्दू धर्म विज्ञहरूको मृत्यु संस्कार परिमार्जन कार्यशाला गोष्ठीले, मृत्यु संस्कारलाई जम्मा ५ दिन तोकेको छ ।
– गरुड पुराणको १३ औं अध्याय र मृत्यु संस्कार सरलीकृत अवधारणाको मार्गदर्शक सिद्धान्तअनुसार अन्त्येष्ठी कर्म ः– शवदाहनादी कर्मका निम्ति पहिलो दिन । दोस्रो दिनदेखि नवौं दिनसम्म गरिने प्रक्रियाका लागि दोस्रो दिन । दशौं दिनको प्रक्रियाको लागि तेस्रो दिन । एघारौं दिनको प्रक्रियाका लागि चौथो दिन । बाह्रौं दिनको शुद्धाइ“ प्रक्रियाको लागि पाँचौं दिन र शोकसूतक बार्ने ः– चार पुस्ताभित्रकाले तीन दिन, पाँच पुस्ताभित्रकाले दुई दिन, ६ पुस्ताभित्रकाले एक दिन, सात पुस्ताभित्रकाले आधा दिन र त्यसमाथिका पुस्ताहरूले नुहाए चोखिन्छ । (प्रस्तावित) उपरोक्त व्यहोराहरू तत्–तत् समयमा र यस्तैखाले घटनाहरू नेपाली समाजमा बेला–बेला हिजो–आज पनि घटिरहन्छन् र मिडियाले त्यसलाई प्रथम प्राथमिकतामा राखेर प्रसारण, प्रकाशन गरिरहेका छन् तर आम नेपालीले ती सबैलाई सर्वमान्य नमानेर अपवादको रूपमा मात्र लिएको, हेरेको र सुनेको देखिन्छ । त्यसैले परम्परित अन्धविश्वासी कर्मकाण्ड त चलेकै छ । अझ आम नेपालीहरू विशेष महिला बालबालिकाहरूलाई दिनानु दिन भारतीय टीभीहरूले धर्मका कुसंस्कार र डर, त्रास थपेको थपेकै छ ।
त्यसमाथि हिन्दू धर्मकै भगिनी सम्प्रदायहरूको थप कुसंस्कारी पकड टोल–टोलमा उत्पत्ति हुने माता, बाबाको श्रद्धा, ठाउँ–ठाउँको नयाँ तीर्थस्थल अनि हिमाल, पहाड र तराईको कुसंस्कार एक–अर्काे ठाउँमा विस्तार हुनु मात्र हैन, विश्व ग्रामीणताको द्योतक विभिन्न डे हरूसमेत आजको नेपाली समाजमा गासिँदै आउँदैछन् । त्यसैले नेपाली समाजमा कुसंस्कारहरू झिकिदेला गाँडभन्दा पनि थपिदेला गाँडको अवस्थामा चुर्लुम्म डुबेको छ । यस्तो परिस्थितिमा मृत्यु सस्ंकार परिमार्जन को के अर्थ रहन्छ र ?
हिन्दु सस्ंकारका ज्ञात–अज्ञात अनेक सस्ंकारहरू भए पनि मोटामोटी मुख्य १६ संस्कार समाजमा चलेका निम्नअनुसार छन् ः–
१. गर्भाधान– उचित समयमा शुक्राणु र डिम्बको मिलन । २. पंसवन – पल्लवित भ्रुणको विकास । ३. सीमान्तोवयन –४, ६, ८ महिना गर्भस्वास्थ्यको कामना (गोद भराइ) । ४. जातककर्म – जन्मने बित्तिकै मह र घिउ चटाउने कर्म । ५. छैंटी, नामकरण – ६ दिनमा छैंटी, ११ दिनमा न्वारान गर्ने कर्म । ६. निष्क्रमण– २२ दिनपछि सुत्केरी र बच्चालाई घाम देखाउने कर्म । ७. अन्नप्रासन – ६–७ महिनामा भात खुवाउने कर्म । ८. कर्णछेदन– कान छेड्ने कर्म । ९. मुण्डन– १, ३, ५, ७ वर्षमा केश काट्ने कर्म । १०. विद्याउच्चारण– शिक्षाबारे उच्चारण गर्ने कर्म । ११. उपनयन– ब्रतबन्ध, गुरुको समक्ष पु¥याउने कर्म । १२. वेद आरम्भ– वेद शिक्षा आरम्भ गर्ने कर्म । १३. केशान्न– टुप्पी राखेर केश मुण्डन गर्ने कर्म । १४. समावर्तन–शिक्षा हासिल गरी घर फर्कने कर्म । १५. विवाह– विवाह कर्म । १६. मृत्यु संस्कार– घरको अग्नि लगी मृतकलाई आगो लगाउने । उपरोक्त संस्कारहरूसँगै देखासिकीका सयौं कुसंस्कारहरूले नेपाली हिन्दू संस्कार उपयोगीहरूलाई जालोले झैं घेरेको हुँदा एउटा मृत्यु संस्कारलाई परिमार्जन गर्र्दैमा, वा गरुड पुराणलाई दोष लगाउँदैमा हाम्रो धार्मिक रुढीवादी कुसंस्कारहरूका प्रचलनलाई बन्द गर्न सकिन्न । कुसंस्कारी हिन्दू प्रचलनहरूलाई सुधार गर्ने हो भने यी सबै संस्कारका कर्मकाण्डी ग्रन्थहरू त परिमार्जन गर्नै पर्ने नै हुन्छ । त्यससँगै फलित ज्योतिष शास्त्र, अन्य धर्म ग्रन्थहरूका सबै अन्धविश्वासी आध्यात्मिक पक्षहरूलाई परिमार्जन गरी व्यवहारवादी (भौतिकवादी) परिमार्जन गर्नुपर्ने हुन्छ । अनि जुनसुकै धर्मका अन्धविश्वासी ग्रन्थहरूलाई नेपाल प्रवेशमा रोक लगाउनै प¥यो नै, देशभित्रका कर्मकाण्डी पुरोहितहरूलाई पनि अनिवार्य भने बमोजिमको ग्रन्थले कर्मकाण्ड गर्ने गराउने जिम्मेवारीसहित त्यसो नगरे दण्ड सजाय दिनु पर्ने व्यवस्था पनि हुनुपर्ने हुन्छ । अर्कोतिर व्यापक रूपमा संस्कार परिमार्जनका ज्ञाताहरू, विनय कसजु, मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, नरहरि आचार्य, खगेन्द्र सङ्ग्रौला, प्रा.डा. रामचन्द्र गौतमजस्ता यथार्थवादी धर्म प्रचारकहरूद्वारा धर्मको कुसंस्कार बारे व्यापक रूपमा जनचेतना जगाउने कार्य निरन्तर रूपमा भइरहनु पर्ने हुन्छ ।
यी सबै प्रक्रियाहरू गरेर समाजमा जनचेतना आएपछि उपरोक्त कुराहरू स्वतः छोटिँदै र बन्द हुँदै जानेछन् । यदि यसो गर्न सकिन्न भने एउटै उपाय बन्दुकको नालबाट निस्कने शक्तिले धर्मका यी कुसंस्कारहरूलाई रोक्नु पर्ने हुन्छ ।
उपरोक्त दुवै प्रणाली अपनाउन सकिँदैन भने हामी तपाई सबैले यी कुसंस्कारहरू भविष्यमा परिमार्जन हुँदै जाने समय पर्खिनुपर्ने हुन्छ । जस्तो– पहिले महिलाहरू मलामी जाँदैनथे भने अहिले महिलाहरू प्रशस्त मात्रामा मलामी जान्छन् । पहिले छोराहरू मात्र किरियापुत्री बस्दथे भने अहिले छोरीहरू पनि किरियापुत्री बस्दछन् । पहिले अनिवार्य १२ दिन काजकिरिया गर्नुपथ्र्यो भने अहिले नसक्ने र नभ्याउनेहरूले ५ दिनमै किरियाकाज सक्दछन् । पहिले उपल्ला जातहरूले गन्धर्व विहेलाई मान्दैनथे भने अहिले सबैले गन्धर्व विहेलाई मान्दछन् ।
पहिले अनिवार्य बरखी बार्ने र सेता लुगा लगाउने चलन थियो, अहिले अनिवार्य छैन । त्यस्तै समाजमा ब्रतबन्ध, गुन्युचोलो पहिले अनिवार्य थियो, अहिले अनिवार्य छैन । अहिले ५० वर्षअघिका हिन्दु संस्कारमा भएका धेरै कुराहरू समय परिस्थितिद्वारा आफै परिवर्तन भएर आएकै छ र पछि पनि हुँदै जानेछ । लोकतान्त्रिक मुलुकमा लोकलाई इच्छा नलागेको कुरा शनैःशनैः छोड्दै जानेछन् भनी अनिश्चितकालीन आशावादी हुनुपर्ने हुन्छ ।
यो लेखकको निजी विचार हो । (–सम्पादक)