राजविराज / सप्तरीको डाकनेश्वरी नगरपालिका ९ का वडाअध्यक्षले एकल महिलाको परिवारलाई नाकाबन्दी गरेका छन् । वडाध्यक्ष कर्णदेव चौधरीले पत्थरगढाकी ५० वर्षीया सीतादेवी शर्माको परिवारलाई नाकाबन्दी गरेका हुन ।
अध्यक्ष चौधरीकै दबाबमा आफ्नो ९ जनाको परिवार तीन दिनदेखि घरमै थुनिएर बस्नु परेको सीतादेवीले गुनासो गरिन । उनका २ छोरा शिवचन्द्र र धीरेन्द्र वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा छन् ।
आफूसँग रहेका २ बुहारी र ६ नातिनातिना नाकाबन्दीको मारमा परेको उनले गुनासो गरिन । चौधरीको निर्देशनमा आफ्नै देवर बिहारी शर्मालगायत छिमेकीहरूले आउजाउको बाटो बन्द गराएको उनको आरोप छ ।
देवरसँगको जग्गा विवाद बढ्दै गए पछि गत मंगलबार बोलाइएको पञ्चायतीमा आफूले वडा अध्यक्षको निर्णय नमान्दा नाकाबन्दी खेप्नुपरेको सीतादेवीको भनाइ छ ।
दाजुभाईको वजग्गा विवादमा वडा अध्यक्षले गरेको निर्णय नमान्दा आफुले सास्ती खेप्न परेको पीडित महिलाको भनाई छ ।
वडा अध्यक्षको प्रस्ताव इन्कार गरे पछि बाटो बन्द गरिएको उनको भनाई छ ।
वडाध्यक्ष चौधरीले भने सीतादेवी र बिहारीको अंश विवाद बढ्दै गएको र सीतादेवि सहमतिमा नआउदा समस्या भएको बताए । नाकाबन्दीका विषयमा भने कुनै जानकारी नभएको उनले बताए ।
प्रहरी चौकी पत्थरगढाका असई भागेश्वर माझीले जग्गा विवादका कारण बिहारीले आफ्नो जग्गामा घेराबेरा गरेर भाउजूको घर जाने बाटो बन्द गराएको पाइएको र प्रहरीको पहलमा नाकाबन्दी हटाउने काम भएको जानकारी दिए ।