वराहक्षेत्र/बेलका नगरपालिकाको प्रसिद्ध मैनामैनी मन्दिरसम्म यातायात सञ्चालन हुने भएको छ ।

बिहीबार वराहक्षेत्र दर्शनको बस गुडेसँगै मैनामैनीमा बस जाने बाटो खोलिएको छ । बसले ४५ जना पर्यटक तथा स्थानीय लिएर महोत्सव स्थलसम्म गएको थियो । पुस १ गतेबाट सञ्चालन हुन लागेको प्रथम मैनामैनी पर्यटन महोत्सवमा आउँने अवलोकनकर्ताकाे सुविधालाइ मध्यनजर गर्दै बस सञ्चालनमा ल्याउन लागेकाे मैनामैनी महोत्सव मूल आयोजक समितिका सक्रिय सदस्य मेसन राईले बताए ।

चतराको कोशीपूलबाट करिब १२ किलोमीटरको दूरीमा रहेको महोत्सव स्थलसम्म जान करिब डेढ घण्टा समय लागेको थियो । हाल त्यहाँ भाडाका पिकअप र बोलेरो चल्दै आएका थिए भने बाटो राम्रो नहुँदा बस जान सकेको थिएन ।

बाटोमा कुद्ने भाडाको बोलेरो र पिकअपले प्रति व्यक्ति २ सय ५० रुपैंया भाडा लिने गरेको थियो भने बस कुद्न थालेपछि पर्यटन महोत्सव अवधिभर प्रतिव्यक्ति २ सय भाडा कायम गरिएको छ भने प्रति चामलको बोरा १ सय तोकिएको राईले बताए ।

हाललाई महोत्सव भरी मात्र चलाउँने गरी बसलाई नियमित बुधवार र बिहीबार चलाउन यातायात व्यवसायीसँग छलफल भइरहेको भन्दै महोत्सव सकिए लगत्तै यातायात शुरु गरिने राईले बताए ।

कोशीपुलदेखि मैनामैनीसम्म कच्ची बाटो खोलिएको छ भने अझै केही स्थानमा युद्धस्तरमा बाटो फराकिलो गर्ने काम भइरहेको उनले जानकारी दिए । मैनामैनी मन्दिरसम्म जान यात्रुले महोत्सव स्थलदेखि १ किलोमिटर माथि अझै उक्लिनु पर्छ ।