धरान/धरानमा सुनको गुणस्तरीयता प्रमाणीकरण गर्ने मेसिन सञ्चालनमा आएको छ ।

उक्त मेसिनमा सर्वसाधारणले आफूले किनेको सुनको गुणस्तरीयता भए/नभएको प्रमाणित गर्न सक्ने छन् । धरान–२ गीतामन्दिर लाइनमा सुनसरी सुनचाँदी व्यवसायी सङ्घको पहलमा खुलेको हो । जोगेश्वरी रिफाइनरी एण्ड ज्वेलर्सले सुनचाँदीको गुणस्तर मापन गर्ने ‘टञ्च मेसिन’ सञ्चालनमा ल्याएको हो ।

मेसिनको सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले उद्घाटन गरे । उनले मेसिनको मद्दतले आफूले किनेको सुन शङ्का लागेमा जाँच गर्न सक्ने बताए । सुनचाँदीको गुणस्तरीयताका बारेमा सर्वसाधारण अनभिज्ञ हुने कारणले गर्दा पनि मेसिन सञ्चालनमा ल्याउनु परेको सुनसरी सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष किशन मास्केले बताए ।

‘सुनचाँदीमा धेरै मान्छे ठगिन्छन् । सर्वसाधारणलाई कति नम्बरको सुनको भन्ने थाहा हुँदैन । व्यापारीले एक नम्बर सुन भनेर बेच्छन् । यथार्थ त्यो नहुन पनि सक्छ ।’ उनले भने । व्यापारीबाट दिनप्रतिदिन सर्वसाधारण ठगिन थालेको गुनासोका आधारमा गुणस्तरीय मापन गर्ने मेसिन राख्नु परेको जोगेश्वरीका सञ्चालक विजय मिसालले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणले आफ्नो सुनको गुणस्तरीयता चेकचाँज गर्न सक्ने बताए । त्यसका लागि एक पटक जाँच गर्दा १ सय रूपैयाँ लिइने उनले बताए । अन्यत्र जाँच गर्दा ५ सय रूपैयाँ लिने गरेका छन् । ‘सुनचाँदी सङ्घको सहकार्यमा भएकाले थोरै मूल्य लिएका हौं ।’ सञ्चालक मिसालले भने । ९९ दशमलव ९९ लाई पहिलो नम्बरको सुन मानिन्छ । जसलाई बोलीचालीको भाषामा २४ क्यारेट भन्ने पनि गरिन्छ ।