भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरताको कारणले खेलकुद ओझेलमा परेको बताएका छन् ।

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरमा भएको प्रथम मुख्यमन्त्री कराँते प्रतियोगिताको विहीबार उद्घाटन गर्दै राईले अब सङ्घीय प्रणालीअनुरूप खेलकुदको विकास हुने दाबी गरेका छन् । खेलकुदमा सङ्र्घष र बलिदान गर्दा देशको नाम संसारभर उच्च राख्न सकिएको उनको भनाइ छ ।

‘स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिएको प्रदेश स्तरीय प्रतियोगितामा कराँतेको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य बसन्त बनियाँ, झलकसिंह दर्लामी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला खेलकुद समिति अध्यक्ष शङ्कर थापा, वरिष्ठ कराँते प्रशिक्षक मदनकुमार उप्रेती, सिनियर कराँते प्रशिक्षक कालु मेचे, सौरभ प्रधान, ईलामका सिनियर कराँते प्रशिक्षक योगबाहादुर राई (योगेश चाम्लिङ), झापा कराँते टेक्निकल समितिका सचिव जगन कार्कीलाई सम्मानित गरियो ।

प्रदेश १ का १० वटा जिल्लाका १ सय ५० खेलाडीको सहभागिता रहेको कार्यक्रममा ३० जना प्राविधिक रेफ्री रहेका छन् । पृथ्वीनगर कराँते डोजोको आयोजना, भद्रपुर नगरपालिका २ को संयोजन र झापा कराँते टेक्निकल समितिको प्राविधिक सहयोगमा शुक्रबारसम्म सञ्चालित हुँदै छ ।