बिर्तामोड / बालशिक्षासमेत गरी ११ वटा कक्षा । शिक्षक शिक्षिका र बिद्यालय कर्मचारी १५ जना । शौचालय, खानेपानी र कार्यालय भवनको पनि यथोचित ब्यवस्था छ । तर, बिद्यार्थी संख्या जम्मा २५ मात्रै । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको वास्तविकता यस्तै छ ।
२०४८ सालमा स्थापित विद्यालयमा प्रारम्भमा कक्षा ८ सम्म पढाइ हुन्थ्यो । त्यसपछि क्रमशः कक्षा ९ र १० थपिए । विद्यालयमा २०५१ सालदेखि बालशिक्षा हुँदै कक्षा १ देखि १० सम्म अध्ययन अध्यापन हुन थालेको हो । ‘शुरुमा विद्यार्थीको चाप सन्तोषजनक नै थियो’ विद्यालयका प्रअ कृष्णप्रसाद भट्टराईले भने, ‘क्रमश विद्यार्थी घट्दै गएँ ।’ संस्कृत शिक्षालाई आवासीय बनाउन सके यसतर्फ विद्यार्थीको आकर्षण बढ्ने अनुमान उनको छ ।
व्यस्त शहरबीचको विद्यालयको अवस्था किन यस्तो ? विद्यालयका प्रअ भट्टराईले सिधै सम्बन्धित निकायको असहयोगका कारण विद्यार्थीको सङ्ख्या घटेको आरोप लगाए । उनले संस्कृत विद्यालयमा कक्षा ६ देखि भाषा, ब्याकरण र साहित्य पढाउनु पर्ने भए पनि शिक्षकको अभाव र विद्यार्थीको रुची त्यसतर्फ नभएका कारण पनि विद्यालयको अवस्था यस्तो भएको बताए । ‘हामी कक्षा ६ देखि भाषा र ब्याकरण पढाउँदै आएका थियौं’ भट्टराईले भने, ‘खासगरी मधेसी र मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता भएका कारण त्यो विषय पनि हटायौं ।’ उनले मधेसी र मुस्लिम विद्यार्थीले संस्कृत विषय अध्ययन गर्न नमान्ने भएका कारण अहिले कक्षा ९ र १० मा त्यसलाई ऐच्छिक बनाएको जानकारी दिए । अहिले कक्षा ९ मा ९ र १० मा २ जनाले ऐच्छिकरूपमा संस्कृत अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।
विद्यालयका संस्कृत शिक्षक हरिनारायण खतिवडाले संस्कृत शिक्षालाई प्राविधिक बनाउन नसकिएका कारण संस्कृत विद्यालयमा विद्यार्थीको आर्कषण घट्दो रहेको बताए । ‘कर्मकाण्ड, ज्योतिष विद्या र आयुर्वेद विज्ञान संस्कृत शिक्षासँग सम्बन्धित हुन्छ’ खतिवडाले भने, ‘अहिले गुरुकुलमा पढेका विद्यार्थीले मात्र त्यो काम गर्ने परिपाटी विकास भएका कारण बिद्यालयस्तरको संस्कृत शिक्षाको अवस्था दयनीय भएको हो ।’ गुरुकुलमा नै पढ्दै गरेका विद्यार्थीलाई पनि प्रयोगात्मक शिक्षाका लागि संस्कृत विद्यालयमा पठाउनुपर्नेमा अर्जुनधारा धाम समितिको बेवास्ताका कारण गुरुकुलमै अध्ययन गराउने गरिएको उनले बताए ।
‘गुरुकुलमा वेद, चण्डी, रुद्रीलगायतको पढाइन्छ’ खतिवडाले भने, ‘ती विद्यार्थीलाई ब्यवहारिक शिक्षा यहाँ दिनुपर्ने हो, धाम समितिले सिक्नका लागि सिधै जजमानको घरमा पठाउने गरेको छ ।’ अन्य गुरुकुलले विद्यालय शिक्षा अध्ययनका लागि संस्कृत विद्यालयमा पठाउने गरेको जानकारी उनले दिए । विद्यालय स्थापनाको समयमा गुरुकुलका विद्यार्थीलाई साहित्य, भाषा र ब्याकरण पढाउनका लागि सो विद्यालयमा लैजाने गरिएको बताउँदै प्रअ भट्टराईले त्यो पनि बन्द भएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएका बताए ।
सरकारले एउटा कक्षामा तराईमा ५० जना विद्यार्थी हुनुपर्ने मापदण्ड तोकेको छ । ५० जना नपुगेको अवस्थामा भुगोल हेरेर मर्ज गर्न सकिने शिक्षा नियमावलीमा उल्लेख छ । विद्यालयको रेकर्डमा १ सय १५ जना विद्यार्थी रहेको देखिन्छ । तर, साढे १० बजेसम्म विद्यालयमा २५ विद्यार्थी उपस्थित थिए । शिक्षकहरूले प्रदेश नम्बर २ मा विवाह पञ्चमीको अवसरमा २ दिन बिदा दिएका कारण यहाँका मधेसी समुदायका विद्यार्थी अनुपस्थित भएको बताए । उनले विद्यालयमा १ सयका हाराहारीमा विद्यार्थीले नियमित अध्ययन गर्दै आएको दाबी गरे ।
‘मावि तहसम्मका संस्कृत शिक्षा सञ्चालनका लागि कम्तिमा ५ जना विषय शिक्षक आवश्यक पर्छ’ खतिवडाले भने, ‘म एकजना मात्र भएका कारण कक्षा चलाउन सकिएको छैन । संस्कृत शिक्षामा विद्यार्थी भर्ना नभएपछि विद्यालयले निजी श्रोतमा प्राविधिक राखेर कम्प्युटर शिक्षा सञ्चालन गरेको उनले बताए । विद्यालयले राखेका दुई जना शिक्षकलाई भने अर्जुनधारा जलेश्वर धामले तलब उपलब्ध गराउँदै आएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बिका खतिवडाले शिक्षकको लापरवाहीका कारण विद्यार्थी सङ्ख्या घटेको आरोप लगाए । ‘संस्कृत पढाउने उद्देश्यले स्थापना भएको प्रतिष्ठान अर्काे विद्यालयसँग मर्ज गर्न पनि नमिल्ने खतिवडा बताउँछन् । खतिवडा अर्जुनधारा धाम समितिका उपाध्यक्षसमेत हुन् ।
अर्जुनधारा नगरपालिकाको शिक्षा समितिका प्रमुख तोया रेग्मीले नगरमा रहेका २७ वटा बिद्यालयमा सरदर एउटा कक्षामा ३५ जना बिद्यार्थी रहेको बताउँदै अर्जुनधाराको संस्कृत बिद्यालयमा भने शिक्षण सिकाई पद्धतीले प्रभाव पारेको बताए । एक महिनाअघि मात्र नगरपालिका आएका रेग्मीले आगामी दिनमा छलफल गरेर हस्तक्षेपकारी भुमिका खेल्ने समेत बताए । उनले सो बिद्यालयमा दुई पटक अनुगमन गरेको जानकारी दिदै पहिलो अनुगमनमा ६१ र दोस्रो अनुगमनमा ५२ जना बिद्यार्थी भेटिएको जानकारी दिए ।