पाँचथर /  पाँचथर सदरमुकाम फिदिम–२, पल्लोटारस्थित नयाँ बसपार्क निर्माण शुरु भएको दुई दशकपछि बल्ल सञ्चालनमा आउने भएको छ । बसपार्क सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको फिदिम–२ का वडाध्यक्ष तथा बसपार्क भौतिक पूर्वाधार निर्माण समितिका संयोजक सुकपाल तुम्बापोले बताए । उनका अनुसार बसपार्क क्षेत्रमा १२ वटा टिकट काउण्टर रहेका छन् । शौचालय, स्नानकक्ष, यात्रु प्रतिक्षालय, सुरक्षाकर्मीका लागि छुट्टै कक्ष निर्माण गरिएको छ । सौर्यबत्ती, विद्युत् र खानेपानीसमेतको व्यवस्था छ ।
बसपार्क मङ्सिर २९ गते उद्घाटन हुँदै छ । मेची राजमार्गको फिदिमस्थित जोरसालदेखि बसपार्क र तुम्देनचोक–बसपार्क जोड्ने ११ मिटर चौडा सडक निर्माण भएको छ । अब फिदिम बजारमा हुने अव्यवस्थित पार्किङ हट्ने अपेक्षा बजारवासीले गरेका छन् । फिदिम–१ शनिबारेको अस्थायी बसपार्क साँघुरो हुँदा बजार क्षेत्रमै जथाभावी सवारी पार्किङ गरिँदै आएको थियो । सवारी साधनको चाप र अव्यवस्थित पार्किङका कारण पैदल यात्रा गर्नै झन्झटिलो रहेको पैदलयात्री शङ्कर आङ्देम्बेले बताए । फिदिम बसपार्कको २०७१ वैशाख १ गते नै उद्घाटन भएको हो । तर, त्यतिबेला यातायात व्यवसायीले बसपार्क क्षेत्रमा न्यूनत्तम भौतिक पूर्वाधारसमेत नभएको भन्दै सवारी साधन नलगेपछि बसपार्क अलपत्र बनेको थियो । तर अहिले सुरक्षा व्यवस्थासहितको आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेकाले अब पनि व्यवसायीले अटेर गरे नगरपालिकाले कारबाही अगाडि बढाउने वडाध्यक्ष तथा निर्माण समिति संयोजक तुम्बापोले बताए । पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपालले बसपार्कमा आवश्यक पूर्वाधार निर्माण भइसकेकाले सञ्चालनका लागि योग्य रहेको बताए ।
बसपार्क क्षेत्रमा अझै पनि ढुक्क हुने किसिमको सुरक्षा प्रवन्ध नभएको कञ्चनजङ्घा ट्याक्सी व्यवसायी मेची प्रालिका अध्यक्ष निलम गिरीले बताए । फिदिम–२ पल्लोटारमा बसपार्क निर्माणका लागि २० वर्षअघि स्थानीयले झण्डै ९ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । बसपार्क नयाँ सहर आयोजनाको कार्यालयको एक करोड ८७ लाख ८६ हजार रुपैयाँको लागतमा डिम्दुङ एण्ड थोकर÷ पाथीभरा शुभकामना जेभीले निर्माण गरेको हो ।